Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – रौतहटको माधवनारायण नगरपालिकाकी २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा प्रहरीले महत्त्वपूर्ण सफलता हात पारेको छ । शव लुकाउन प्रयोग गरिएको सुटकेस बोक्ने ई-रिक्सा चालकलाई प्रहरीले सोमबार पक्राउ गरेसँगै घटनाको रहस्य खुल्दै गएको हो । प्रहरीले हत्यामा संलग्न मुख्य व्यक्तिको पहिचान भइसकेको र उनी प्रहरीको कडा निगरानीमा रहेको दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा ई-रिक्सा चालक लक्ष्मण महरा छन्। प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार, हत्याराले शव राखिएको सुटकेस फाल्नका लागि महराको ई-रिक्सा पाँच सय रुपैयाँ भाडामा लिएका थिए।  तर, गौर-गंगापिपरा सडक खण्डको मुडवलवा मोड नजिक पुग्दा ई-रिक्सा बिग्रिएपछि हत्याराले चालकलाई फर्काइदिएर सुटकेस सडकमै छाडी भागेको प्रहरीको भनाइ छ । चालक महराले भने सुटकेसभित्र शव रहेकोबारे आफूलाई कुनै जानकारी नभएको बयान दिएका छन् ।

प्रहरीले हत्यामा संलग्न मुख्य अभियुक्तको पहिचान भइसकेको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीले अनुसन्धान तीव्र गतिमा अघि बढेको र छिट्टै सबै तथ्य सार्वजनिक गरिने बताए । ‘हामी अनुसन्धानको निष्कर्षतिर पुगेका छौं,’ एक अनुसन्धान अधिकारीले भने, ‘शंका गरिएका व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमा रहेको देखिन्छ ।’

प्रहरीका अनुसार ती व्यक्ति हालै वैदेशिक रोजगारीबाट फर्किएका थिए र शव लुकाउन प्रयोग गरिएको सुटकेस उनैले विदेशबाट ल्याएको खुलेको छ, जसले घटनामा उनको संलग्नता थप पुष्टि गरेको छ ।

अनुसन्धानका क्रममा शनिबार साँझ रुबीलाई ती शंकित व्यक्तिले नै बोलाएर हत्या गरेको प्रहरीको दाबी छ । ‘केही सामान लिन जान्छु’ भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन् ।

प्रहरीका अनुसार, घरबाट निस्कनुअघि रुबी ब्युटिपार्लर गएकी थिइन् र आफ्नो छोरालाई फोन गरेर ‘जुस ल्याइदिन्छु’ भनेकी थिइन् । रातिसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा उनको मोबाइलमा फोन लागेको थिएन र राति ९ बजेतिर ‘स्वीच अफ’ भएको थियो ।

रुबीको शव गत शनिबार राति गौर नगरपालिका-९ सिर्सिया नजिक सडकमा डोरीले बाँधिएको सुटकेसमा फेला परेको थियो । १३ वर्षअघि भारतको मुजफ्फरपुरका शिवसागर सुडीसँग विवाह गरेकी रुबी केही महिनादेखि माइतीघरमा आमासँग डेरा लिएर बस्दै आएकी थिइन् । भारतमा विद्यालय टाढा भएकाले छोरालाई पढाउन उनी नेपाल आएको परिवारले जनाएको छ । घटनापछि उनका श्रीमान पनि प्रहरीको सम्पर्कमा आएका छन् ।

 

तपाईको प्रतिक्रिया