Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

टोकियो – जापानको होक्काइडोस्थित हिदाका पर्वत श्रृंखलामा बग्ने एक नदी किनारमा शनिबार दुई महिला अचेत अवस्थामा फेला परेका छन्, जसलाई पछि मृत घोषित गरियो । प्रहरीले उनीहरुको मृत्यु पर्वतारोहण दुर्घटनाका कारण भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरीका अनुसार, शनिबार दिउँसो करिब ३ बजे एक पदयात्रीले नाकासात्सुनाई गाउँको माउन्ट कामुइएकुचिकाउसीबाट बग्ने सत्सुनाई नदीको किनारमा एक महिलालाई अचेत अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीले हेलिकप्टरमार्फत हवाई खोजी सुरु गरेको थियो र साँझ ४:३० बजे ती महिलालाई फेला पारेको थियो । सोही क्रममा हेलिकप्टर टोलीले साँझ ५:३० बजे नजिकै अर्की महिलालाई पनि अचेत अवस्थामा देख्यो । दुवैलाई तत्काल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले मृत घोषणा गरे ।

मृत्यु हुनेमा ६६ वर्षीया चिएकी कोयामा (साइतामा प्रान्त) र ७८ वर्षीया चियो कामेई (टोकियो) रहेका छन् । प्रहरीका अनुसार, उनीहरुको शरीरमा गम्भीर चोटपटक देखिएको छैन, तर दुवैको कपडा भिजेको अवस्थामा थियो । शव फेला परेको स्थान माउन्ट कामुइएकुचिकाउसीस्थित सत्सुनाई रिभर हटबाट करिब ६ किलोमिटर माथि रहेको छ । प्रहरीले उनीहरू हिमाल चढ्ने क्रममा कुनै कारणवश नदीमा खसेको हुनसक्ने आशंका गरेको छ । यद्यपि, उनीहरू सँगै पर्वतारोहण गरिरहेका थिए वा थिएनन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समुद्र सतहबाट १,९७९ मिटर उचाइमा रहेको माउन्ट कामुइएकुचिकाउसीलाई पर्वतारोहीहरू ‘कामुएकु’ भनेर चिन्छन् । यसलाई जापानकै सबैभन्दा कठिन हिमालहरूमध्ये एक मानिन्छ, जहाँ नदीको किनारैकिनार चढ्नुपर्ने र धेरै ठाउँमा ठाडो चट्टानको सामना गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया