टोकियो – जापानको ओसाकास्थित एक कारखानामा काम गर्ने ५५ वर्षीय मजदुरको लिफ्टको ढोकामा टाउको अड्किएर मृत्यु भएको छ । यो घटना बिहीबार घटेको हो ।
स्थानीय प्रहरीका अनुसार, बिहान करिब ११:२० बजे एक सहकर्मीले आपतकालीन नम्बर ११९ मा फोन गरी आफ्नो साथीको घाँटी लिफ्टको ढोकामा फसेको जानकारी दिएका थिए । सुमिनोए वडामा रहेको अटोमोबाइल मर्मत कारखानामा यो दुर्घटना भएको हो।
घटनास्थलमा प्यारामेडिक्सको टोली पुग्दा ती व्यक्ति हृदयघातको अवस्थामा थिए । उनलाई तत्काल अस्पताल लगिए पनि करिब एक घण्टापछि डाक्टरहरूले मृत घोषित गरेका थिए । प्रहरीले जनाएअनुसार, ती व्यक्ति कारखानामा चौथो तल्लामा काम गरिरहेका थिए । उनले गाडीका पार्टपुर्जाहरू सामान ओसार्न प्रयोग गरिने व्यावसायिक लिफ्टमा लोड गर्दै थिए । उक्त लिफ्ट करिब १.२ मिटर चौडा र १.५ मिटर अग्लो रहेको बताइएको छ ।
अहिलेसम्म ती व्यक्तिको टाउको लिफ्टको ढोकामा कसरी अड्कियो भन्नेबारे स्पष्ट हुन सकेको छैन । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ ।








