समाचार सुन्नुहोस :
काठमाडौँ – नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको उपस्थितिमा मंगलबार काठमाडौंस्थित भारतीय दूतावासमा भारतको ७९ औं स्वतन्त्रता दिवस मनाइयो। कार्यक्रमको सुरुवातमा नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झन्डा फहराए। त्यसपछि भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा पठाएको सम्बोधन प्रस्तुत गरियो। जसमा विगत ७८ वर्षमा भारतले गरेको प्रगतिका विषय समेटिएका थिए।
सो अवसरमा राजदूतले भारतीय सशस्त्र बलका दिवंगत सदस्यका पत्नी तथा नजिकका नातेदारलाई सम्मान गर्दै कुल नेरु ६.४ करोड बराबरको आर्मी ग्रुप इन्स्योरेन्स फन्डको चेक हस्तान्तरण गरे। साथै, दूतावासले नेपालका सातै प्रदेशका २१ जिल्लामा रहेका ३९ शैक्षिक संस्था र पुस्तकालयलाई पुस्तक अनुदान दिने घोषणा गर्यो, जसले विशेष गरी दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्रीमा पहुँच बढाउने लक्ष्य राखेको छ।
कार्यक्रममा दूतावासका अधिकारी तथा परिवार, नेपाली भूमिमा रहेका भारतीय समुदाय र भारतका मित्रहरूको सहभागिता थियो। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय, काठमाडौंका विद्यार्थीहरूले देशभक्तिपूर्ण गीत र सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।








