Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – राप्रपा सांसद दीपक बोहराको निधनपछि रिक्त रहेको रुपन्देही-३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनले राष्ट्रिय राजनीतिको ध्यान तानेको छ । गत निर्वाचनका विजेता र उपविजेता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कांग्रेसबीच प्रतिष्ठाको लडाइँ देखिँदा अन्य प्रमुख दलहरू पनि आ-आफ्नो रणनीति बनाउन जुटेपछि चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

गत निर्वाचनमा तत्कालीन बहालवाला गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै आफ्नो विरासत कायम राखेको राप्रपा यो उपनिर्वाचनमा पनि सोही नतिजा दोहोर्‍याउने दाउमा छ भने, कांग्रेस त्यो अप्रत्याशित हारको बदला लिने रणनीतिका साथ मैदानमा उत्रिएको छ ।

के राप्रपाले विरासत जोगाउला ?
राप्रपा आफ्नो गढ सुरक्षित राख्न कुनै कसर बाँकी नराख्ने योजनामा छ ।अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले केही दिनअघि क्षेत्रीय भेलालाई सम्बोधन गर्दै जसले टिकट पाए पनि जिताउने गरी लाग्न निर्देशन दिइसकेका छन् । पार्टीले वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा उपनिर्वाचन परिचालन समिति नै गठन गरेर तयारीलाई तीव्रता दिएको छ ।

उम्मेदवारका लागि जिल्लाबाट ६ जनाको नाम केन्द्रमा सिफारिस भए पनि स्वर्गीय दीपक बोहराकै परिवारभित्रबाट उम्मेदवार बनाउने सम्भावना बलियो देखिन्छ । उनका दुई छोरा गौरव (पाइलट) र प्रज्ज्वल (इन्जिनियर) तथा सोही परिवारकी स्वाती थापा मुख्य आकांक्षी हुन् । बोहरा परिवारप्रतिको सहानुभूतिलाई मतमा बदल्ने रणनीतिमा पार्टी देखिन्छ ।

एक शब्द नबोली चुनाव जितेका बोहरासँगको हार कांग्रेसका लागि ठूलो झड्का थियो । त्यही पीडालाई जितमा बदल्न कांग्रेसले क्षेत्रका ३६ वटै वडामा भेला र छलफल चलाइरहेको छ । महामन्त्री विश्वप्रकाश शर्मा आफैँ ४ दिन रूपन्देही बसेर वस्तुस्थितिको जानकारी लिएका थिए भने सभापति शेरबहादुर देउवाले समेत उपनिर्वाचन केन्द्रित बैठक डाकिसकेका छन् । यद्यपि, कांग्रेसले औपचारिक रूपमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छैन ।

अन्य दलको तीव्र तयारी
रास्वपा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवार छनोटमा नौलो अभ्यास थालेको छ ।सार्वजनिक आवेदन मागेकोमा ९ जनाले इच्छा देखाएका छन् । पार्टीले ५० प्रतिशत मतभार सदस्यहरूको ई-भोटिङ र ५० प्रतिशत नेतृत्वको मूल्यांकनबाट उम्मेदवार टुंगो लगाउने जनाएको छ । साउन ३० गते कार्यवाहक अध्यक्ष डीपी अर्याल, उपाध्यक्ष डा. स्वर्णिम वाग्ले लगायतका नेताहरू प्रशिक्षण तथा चुनावी माहौल बनाउन भैरहवा आउँदैछन् ।

एमाले: गत निर्वाचनमा राप्रपालाई सघाएको एमालेभित्र यसपटक आकांक्षीको लर्को छ । जिल्ला अध्यक्ष यज्ञ गैरेका अनुसार खिमलाल भट्टराई, शशि पौडेल, यज्ञजित शाह र हरि अधिकारीले उम्मेदवार बन्ने इच्छा देखाएका छन् । जिल्ला कमिटीलाई भदौ १५ भित्र नाम सिफारिस गर्न समयसीमा तोकिएको छ ।

  • नागरिक उन्मुक्ति: संघीय लोकतान्त्रिक मोर्चाका अधिकांश घटकले नाउपाबाट साझा उम्मेदवार बनाउने तयारी गरेका छन् । संरक्षक रेशम चौधरीले विद्यावारिधि (पीएचडी) गरेका व्यक्तिलाई उम्मेदवार बनाउन प्रस्ताव राखेका छन् ।

  • जनमत पार्टी: उम्मेदवारको विवरण संकलन गरिरहेको र छिट्टै नाम टुंगो लगाउने तयारीमा छ ।

  • राष्ट्रिय जनमोर्चा: बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

  • नेमकिपा: उपनिर्वाचनमा भाग नलिने भएको छ ।

कस्तो छ अंकगणित ?

२०७९ को निर्वाचनमा राप्रपाका बोहराले ३६ हजार ७ सय १७ मत ल्याउँदा कांग्रेसका खाँणले ३४ हजार ३६ मत पाएका थिए । यहाँ राप्रपालाई एमालेले सहयोग गरेको थियो । तर, समानुपातिकतर्फको मतले फरक कथा भन्छ । कांग्रेस २० हजार २ सय ७९ मतसहित पहिलो, एमाले १६ हजार ९ सय ८६ मतसहित दोस्रो र रास्वपा १४ हजार १ सय ५४ मतसहित तेस्रो स्थानमा छन् । विजेता राप्रपाको समानुपातिक मत भने ९  हनार १ सय ८३ मात्रै छ, जसले गठबन्धन बिना जित्न कठिन रहेको देखाउँछ ।

केन्द्रीय नेताहरूको बाक्लो आवतजावत र दलहरूको तीव्र तयारीले रुपन्देही-३ को उपनिर्वाचनलाई राष्ट्रिय चासोको विषय बनाइदिएको छ । यो केवल एक सिटको चुनाव मात्र नभई दलहरूका लागि प्रतिष्ठाको लडाइँ र शक्तिको परीक्षण बन्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया