काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एक व्यक्तिको बचाउका लागि संसद् जस्तो गरिमामय संस्थालाई सामाजिक सञ्जालको ‘कन्टेन्ट’ उत्पादन गर्ने थलो बनाउन खोजिएको भन्दै प्रमुख प्रतिपक्षी दलप्रति तीव्र असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । सहकारी ठगी प्रकरणमा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका एक व्यक्तिलाई जोगाउन ‘राजनीतिक प्रतिशोध’ को झुटो कथा रच्न खोजिएको भन्दै उनले यस्तो भाष्य निर्माणको प्रयासप्रति गम्भीर प्रश्न उठाएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सयौँ बचतकर्ताको अर्बौँ रुपैयाँ हिनामिना गरेको आरोपमा पूर्वमन्त्रीदेखि बहालवाला मेयरसम्मका दर्जनौँ व्यक्ति न्यायिक हिरासतमा रहेको स्मरण गराए । उनले भने, ‘अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ । यदि एक व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य सयौँ व्यक्तिमाथि के भएको हो ? के त्योचाहिँ कानुनी कारबाही हो ?’
नाम नलिईकनै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भिजिट भिसामा विदेश गएर उतैको नागरिक बनेका र नेपाल फर्केर नयाँ नागरिकता नलिईकनै सांसद र मन्त्री बनेकाहरूले नै अरूमाथि प्रश्न उठाएको भन्दै कडा व्यङ्ग्य गरे । ‘देश र जनताको हितमा केन्द्रित हुनुपर्ने सम्मानित सदनलाई झूटा कथा सिर्जना गरेर भ्रम पैदा गर्ने र सामाजिक सञ्जालका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘पोजिसनका हिसाबले प्रतिपक्षमा भए पनि जनताको मत लिएर आएपछि देशप्रति केही न केही दायित्व त होला नि !’
उनले भीडको बलमा न्यायको हत्या गरेर अभियोगबाट मुक्त हुन खोज्ने प्रवृत्ति दयालाग्दो भएको टिप्पणी गरे । स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकारको अनुकूल वा प्रतिकूल जे भए पनि त्यसमा सरकारको कुनै भूमिका नहुने स्पष्ट पार्दै उनले यस्ता विषयमा संसद् अवरुद्ध गरी भावनात्मक उत्तेजना फैलाउनु मुलुकको हितमा नभएको जिकिर गरे ।








