काठमाडौं – ‘विष्णु माझीको गीत नआएसम्म तीज नै खल्लो लाग्छ’- हरेक वर्ष तीजको रौनक सुरु भएसँगै सामाजिक सञ्जालमा गुञ्जिने यो आवाजले यसपटक पनि विश्राम पाएको छ । तमाम प्रतिक्षा र अनुमानलाई अन्त्य गर्दै लोकगायिका विष्णु माझीले आफ्नो नयाँ तीज कोशेली ‘म त नराउरी’ (पुतलीको भट्टी-२१) सार्वजनिक गरेकी हुन् ।
गीत सार्वजनिक भएसँगै यसले युट्युबमा मात्र नभई सम्पूर्ण नेपाली संगीतप्रेमीमाझ ठूलो तरंग ल्याएको छ । सधैँझैँ यसपटक पनि माझीले आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत लाखौं दर्शक-श्रोताको मन जितेकी छन् ।
विष्णु माझीका गीत केवल नाचगानमा सीमित हुँदैनन्, तिनले नेपाली समाजका चेलीबेटीका गहिरा कथा र वेदना बोकेका हुन्छन् । ‘म त नराउरी’ ले पनि यही परम्परालाई निरन्तरता दिएको छ । गीतको भिडियोमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ ।
गर्भवती अवस्थामा घाँस-दाउराको भारी बोक्नुपर्ने बाध्यतादेखि परिवारभित्रको अवहेलनासम्मका दृश्यले धेरैको मन छोएको छ । भिडिओमा एकातिर भव्य नृत्य र रंगिन परिवेश छ भने अर्कोतिर एक नारीको यथार्थ जीवनको संघर्षलाई उतारिएको छ, जसले गीतलाई थप भावनात्मक बनाएको छ ।
उत्कृष्ट प्रस्तुति र उही सशक्त टिम
यस गीतको सिर्जनामा पनि माझीको सदाबहार टिमकै निरन्तरता छ । गीतका रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी नै हुन् । अधिकारीको शब्द र संगीतमा माझीको स्वरले सधैँझैँ जादु गरेको छ ।
भिडिओमा गत वर्षको चर्चित गीत ‘आइनँ आमा यो तीजमा’ मा अभिनय गरेकी मोडल ललिता पौडेलको दमदार नृत्य देख्न सकिन्छ । मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई एकसाथ नचाइएको छ, जसले भिडियोलाई भव्यता प्रदान गरेको छ । शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्टको सम्पादनले भिडियोलाई जीवन्त बनाएको छ ।
यो वर्ष तीजका दर्जनौं गीत सार्वजनिक भए पनि बजारमा खासै उत्साह छाउन सकेको थिएन । तर, माझीको गीत सार्वजनिक भएसँगै तीजको वास्तविक रौनक सुरु भएको प्रतिक्रिया आउन थालेको छ । गत वर्ष उनको ‘आइन आमा यो तीजमा’ बोलको गीतलाई युट्युबमा २ करोड ४० लाखभन्दा बढी पटक हेरिएको थियो । यसपटक पनि ‘म त नराउरी’ ले नयाँ कीर्तिमान बनाउने अनुमान गरिएको छ ।
सार्वजनिक जीवनबाट टाढा रहे पनि आफ्नो स्वरमार्फत करोडौं नेपालीको मनमा राज गरेकी विष्णु माझीको यो नयाँ गीतले यसपटकको तीजलाई फेरि पनि अविस्मरणीय बनाउने निश्चित छ ।








