टोकियो – आज जापानभर ‘माउन्टेन डे’ अर्थात् ‘यामा नो हि’ (山の日) उल्लासका साथ मनाइँदै छ । यो जापानको सबैभन्दा नयाँ राष्ट्रिय बिदा हो, जसले यहाँका जनता र प्रकृतिको गहिरो सम्बन्धलाई उजागर गर्दछ । यो दिन केवल एक बिदा मात्र नभएर जापानको सांस्कृतिक धरोहरका रूपमा रहेका पहाडहरूप्रति कृतज्ञता व्यक्त गर्ने एक विशेष अवसर पनि हो ।
सन् २०१६ देखि हरेक वर्ष अगस्ट ११ मा मनाउन थालिएको ‘माउन्टेन डे’ को मुख्य उद्देश्य जापानी नागरिकलाई पहाडसँग साक्षात्कार गराउनु र प्रकृतिको महत्व बुझाउनु हो । जापान एक प्रकृतिपूजक देश हो, जहाँ पहाड, जङ्गल र नदीलाई देवताका रूपमा हेरिन्छ । यही मान्यतालाई सम्मान गर्दै सरकारले यो दिनलाई सार्वजनिक बिदाका रूपमा स्थापना गरेको हो । यस दिन मानिसहरूलाई पहाडको भ्रमण गर्न, पदयात्रा गर्न र प्रकृतिको काखमा समय बिताउन प्रोत्साहित गरिन्छ । यो बिदाले पहाडहरूले बाढीपहिरो रोक्न र मौसमलाई सन्तुलित राख्न पुर्याएको योगदानको पनि स्मरण गराउँछ ।
जब जापानका पहाडहरूको कुरा हुन्छ, तब माउन्ट फुजीको नाम स्वतः पहिलो नम्बरमा आउँ छ। ३,७७६.२४ मिटर उचाइको यो पहाड जापानको सबैभन्दा अग्लो चुचुरो मात्र नभई राष्ट्रिय गौरव र पहिचानको प्रतीक पनि हो । यसको मनमोहक र कलात्मक स्वरूपले हरेक वर्ष लाखौँ स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दछ, जसले जापानको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याएको छ ।
माउन्ट फुजीको सफल आरोहण गर्दा मनोकामना पूरा हुने र वर्षभरि स्वास्थ्य राम्रो रहने जनविश्वास पनि यहाँ व्याप्त छ । यसको यही सांस्कृतिक र प्राकृतिक महत्वलाई कदर गर्दै सन् २०१३ मा युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । यसले माउन्ट फुजीको विश्वव्यापी महत्वलाई थप बढाएको छ ।
‘माउन्टेन डे’ ले जापानीहरूलाई आफ्नो जीवनमा हिमालको आशीर्वाद र यसको महत्वपूर्ण भूमिकालाई सम्झन प्रेरित गर्छ । यो दिन प्रकृतिसँगको मित्रतालाई नवीकरण गर्ने र भावी पुस्तालाई यसको संरक्षणका लागि प्रोत्साहित गर्ने एक सुन्दर अवसर हो ।








