टोकियो – जापानमा रहेका म्याग्देलीहरूको साझा संस्था, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको नेतृत्वमा गणेशप्रसाद श्रेष्ठ चयन भएका छन् । शिन्जुकुस्थित ओकुबो सामुदायिक केन्द्रमा सम्पन्न ९औँ महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिले प्रवासी म्याग्देलीहरूबीच एकतालाई थप मजबुत बनाउँदै मातृभूमिको सेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा टिका बहादुर छन्त्याल, उपाध्यक्षहरूमा प्रकाश तुलाचन, महेन्द्र चोखाल, सागर कार्की, हिरा बुढाथोकी, पवित्रा पुन, धनमायाँ पूर्जा, र रेखा केसी रहेका छन् ।
त्यसैगरी, क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी उज्ज्वल बानियाँले पाएका छन् । संस्थाको महासचिवमा सुरेश पुन र सचिवमा गणेश बानियाँ चयन भएका छन् । आर्थिक विभागको जिम्मेवारी सम्हाल्दै कोषाध्यक्षमा ज्ञानेन्द्र कार्की र सह-कोषाध्यक्षमा दिपक सुबेदी निर्वाचित भएका छन् ।
उपाध्यक्ष हिरा बुढाथोकीका अनुसार, क्षेत्रीय सचिवमा सुरेन्द्र सुनार, महिला संयोजकमा उषा हमाल, सांस्कृतिक संयोजकमा अविसारा पूर्जा, र युवा संयोजकमा गणेश छन्त्याललाई चयन गरिएको छ । महाधिवेशनले कार्यसमितिलाई पूर्णता दिँदै सदस्यहरूमा विवेक खड्का, गणेश गिरी, प्रविण केसी, ईश्वर सुबेदी, नवराज भण्डारी, नविन खत्री, सम्झना खड्का, गोकुल कार्की, सिजन शाही, भगवती क्षत्री, राजेन्द्र छन्त्याल र विनोद रेग्मीलाई चयन गरेको छ ।
महाधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि मोना अन्तर्राष्ट्रियका अध्यक्ष ददीवल खड्काले विश्वभर छरिएर रहेका सम्पूर्ण म्याग्देलीहरूलाई मोनाको सञ्जालमा जोडिन आह्वान गरे । उनले भने, ‘मोनाको सञ्जाल विस्तारसँगै हामीले आफ्नो जन्मभूमिमा निरन्तर योगदान पुर्याइरहेका छौँ । मोना आज विश्वभरका म्याग्देलीको साझा पहिचान बनेको छ ।’
कार्यक्रममा निवर्तमान अध्यक्ष विशाल केसीले आफ्नो कार्यकाललाई सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । उनको कार्यकालमा मोना फेस्टिबल, आर्थिक तथा उपचार सहयोगजस्ता महत्वपूर्ण सामाजिक कार्यहरू सम्पन्न भएका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा पुराना सफल कार्यक्रमहरूलाई निरन्तरता दिँदै समुदायको हितमा नयाँ योजनाहरू अघि सार्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘सबैको साथ र सल्लाहलाई आत्मसात् गर्दै मोना जापानलाई अझ उचाइमा पुर्याउनेछु ।’
निर्वाचन समितिका संयोजक दिपक कार्की, उपसंयोजक राम खड्का र प्रेम पुनले नवनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष केसीले, सञ्चालन निवर्तमान महासचिव सागर कार्कीले र स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष श्रेष्ठले गरेका थिए ।








