टोकियो – पछिल्लो समय जापानमा नेपालीहरूको संख्या बढेसँगै यहाँको दैनिकी सहज बनाउन ड्राइभिङ लाइसेन्सप्रति आकर्षण पनि बढेको छ । कोरोना महामारीपछिको सहज परिस्थितिसँगै विभिन्न उद्देश्यले जापान आउने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ, जसले गर्दा ड्राइभिङ लाइसेन्सको आवश्यकता र माग दुवै बढेको देखिन्छ ।
जापानमा शून्यबाट ड्राइभिङ लाइसेन्स प्राप्त गर्न चाहनेहरूका लागि प्रक्रिया केही जटिल र चरणबद्ध छ । यसका लागि मुख्यतः चारवटा परीक्षाहरू उत्तीर्ण गर्नुपर्ने हुन्छ ।
- ड्राइभिङ लाइसेन्सका लागि आवश्यक चार परीक्षा
१. लर्नर्स परमिटको लिखित परीक्षा (खारिमेन्क्यो)
यो प्रारम्भिक चरणको लिखित परीक्षा हो, जसमा ५० पूर्णाङ्कमा न्यूनतम ४५ अङ्क ल्याउनुपर्छ । ३० मिनेटको यो परीक्षा नेपाली, अंग्रेजी र जापानीसहित २० भन्दा बढी भाषाहरूमा दिन सकिन्छ ।
२. लर्नर्स परमिटको प्रयोगात्मक परीक्षा (खारिमेन्क्यो)
लिखित परीक्षा पास गरेपछि निश्चित ट्र्याकमा गाडी चलाएर प्रयोगात्मक परीक्षा दिनुपर्छ । प्रशिक्षकको निर्देशनअनुसार कोर्स पूरा गर्नुपर्ने यो परीक्षामा सुरुमा १०० अङ्क दिइन्छ । गल्ती गर्दै जाँदा अङ्क घट्ने प्रणालीअनुसार, कोर्सको अन्त्यसम्ममा न्यूनतम ७० अङ्क कायम राख्न सकेमा उत्तीर्ण भइन्छ ।
३. ड्राइभिङ लाइसेन्सको लिखित परीक्षा (होनमेन्क्यो)
लर्नर्स परमिट प्राप्त गरी निश्चित समय सडकमा अभ्यास गरेपछि यो परीक्षा दिन पाइन्छ । यसलाई ‘होनमेन्क्यो’ को लिखित परीक्षा पनि भनिन्छ । ५० मिनेटको यो परीक्षामा १०० पूर्णाङ्कमा उत्तीर्ण हुन ९० अङ्क ल्याउन अनिवार्य छ । यो परीक्षा पनि नेपालीलगायत विभिन्न भाषामा उपलब्ध छ ।
४. ड्राइभिङ लाइसेन्सको प्रयोगात्मक परीक्षा (होनमेन्क्यो रोड टेस्ट)
यो अन्तिम प्रयोगात्मक परीक्षा हो, जसमा परीक्षकलाई साथमा राखी सार्वजनिक सडकमा गाडी चलाउनुपर्छ । तोकिएको कोर्समा ट्राफिक नियम र ड्राइभिङ अनुशासनको पालना गरेर गाडी चलाएपछि पार्किङको समेत परीक्षा लिइन्छ । यसमा पनि १०० अङ्कबाट सुरु भई अन्त्यमा ७० अङ्क बाँकी रहेमा उत्तीर्ण मानिन्छ । (नोट: केही ड्राइभिङ स्कुलको प्रक्रियाअनुसार तेस्रो र चौथो चरणको परीक्षा अगाडि-पछाडि हुन सक्छ ।)
- जापानमा ड्राइभिङ स्कुलका प्रकार
क. सितेइ जिदोउशा गाक्को (Designated Driving School)
जापानको पब्लिक सेफ्टी कमिसन (公安委員会) बाट मान्यताप्राप्त यी स्कुलहरूमा सरकारले तोकेको मापदण्डअनुसारका तालिम मैदान, कक्षाकोठा र प्रशिक्षक हुन्छन् । यहाँ भर्ना भएमा माथि उल्लिखित चारमध्ये तीनवटा (लर्नर्स परमिटको लिखित तथा प्रयोगात्मक र लाइसेन्सको प्रयोगात्मक) परीक्षाहरू स्कुलभित्रै दिन पाइन्छ । यहाँबाट ‘स्नातक प्रमाणपत्र’ (卒業証明書) प्राप्त गरेपछि आफ्नो प्रिफेक्चरको लाइसेन्स सेन्टरमा गएर अन्तिम लिखित परीक्षा मात्र दिए पुग्छ ।
ख. क्याम्प ड्राइभिङ स्कुल (गाशुकु)
यो पनि एक प्रकारको ‘सितेइ जिदोउशा गाक्को’ नै हो, तर यसमा छोटो अवधिमा कोर्स सक्ने गरी पाठ्यक्रम बनाइएको हुन्छ । करिब दुई हप्ताको बसाइमा खान, बस्नसहितको प्याकेजमा सम्पूर्ण तालिम र परीक्षा पूरा गराइन्छ । यहाँबाट पनि स्नातक प्रमाणपत्र लिएर लाइसेन्स सेन्टरमा अन्तिम लिखित परीक्षा दिनुपर्छ ।
ग. लाइसेन्स सेन्टरमा सूचित ड्राइभिङ स्कुल
यी स्कुलहरूले लिखित र प्रयोगात्मक परीक्षाको तयारीमा सघाउँछन् । तर, माथि उल्लिखित चारवटै परीक्षाहरू प्रिफेक्चरको आधिकारिक लाइसेन्स सेन्टरमा गएर दिनुपर्ने हुन्छ । यी स्कुलहरूको शुल्क केही सस्तो भए पनि लाइसेन्स सेन्टरमा प्रहरी अधिकारीहरूले लिने परीक्षा तुलनात्मक रूपमा कठिन मानिन्छ ।
जापानमा ड्राइभिङ लाइसेन्स लिन चाहने व्यक्तिले आफ्नो भाषाको दक्षता, बजेट र उपलब्ध समयअनुसार स्कुल छनोट गर्न सक्छन् । जुनसुकै स्कुलमा भर्ना भए पनि लाइसेन्स प्राप्तिका लागि व्यक्तिको लगनशीलता, धैर्य र अनुशासन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । कुनै पनि स्कुलले लाइसेन्सको ग्यारेन्टी नदिने हुँदा तोकिएका सबै परीक्षा उत्तीर्ण गर्नुको विकल्प छैन ।
लेखक : प्रभु ड्राइभिङ स्कुल जापानका संचालक हुन् ।








