काठमाडौं – तिरुवनन्तपुरमबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमान प्राविधिक समस्या र खराब मौसमका कारण आइतबार राति चेन्नईमा आकस्मिक अवतरण गरिएको छ । विमानमा कांग्रेस नेता केसी वेणुगोपालसहित कई सांसद र अन्य यात्रुहरू सवार थिए ।
एयर इन्डियाको उडान एआई२४५५, तिरुवनन्तपुरमबाट आइतबार साँझ ८:१७ बजे उडेको थियो र राति १०:४५ बजे दिल्लीमा अवतरण गर्ने तालिका थियो । तर, उडानको क्रममा प्राविधिक गडबडी देखिएपछि र मौसम पनि प्रतिकूल भएपछि विमानलाई सावधानी अपनाउँदै चेन्नईतर्फ मोड्ने निर्णय लिइएको एयर इन्डियाले जनाएको छ ।
विमानमा सवार कांग्रेसका महासचिव केसी वेणुगोपालले सामाजिक सञ्जाल ‘एक्स’मा घटनालाई ‘दुर्घटनाबाट झिनो अन्तरले जोगिएको’ भन्दै त्रासपूर्ण अनुभवको संज्ञा दिएका छन् । उनका अनुसार, पहिलो पटक अवतरण गर्ने प्रयास गर्दा रनवेमा अर्को विमान देखिएपछि पाइलटले कुशलतापूर्वक विमानलाई पुनः आकाशमा फर्काएका थिए । दोस्रो प्रयासमा मात्र विमान सुरक्षित अवतरण हुन सकेको थियो । वेणुगोपालले नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) र नागरिक उड्डयन मन्त्रालयलाई घटनाको तत्काल छानबिन गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
तर, एयर इन्डियाले वेणुगोपालको दाबीलाई अस्वीकार गरेको छ । एयरलाइनका अनुसार, चेन्नई एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले ‘गो-अराउन्ड’ (पुनः उड्नु) को निर्देशन दिएको थियो, तर यसको कारण रनवेमा अर्को विमान हुनु थिएन । एयर इन्डियाले प्राविधिक समस्या र खराब मौसमका कारण सावधानीका रूपमा विमानलाई डाइभर्ट गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ । विमान चेन्नईमा सुरक्षित अवतरण भइसकेको र यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन वैकल्पिक व्यवस्था गरिरहेको पनि कम्पनीले जनाएको छ ।
विमानमा वेणुगोपालका साथै सांसदहरू कोडिकुन्निल सुरेश, अदूर प्रकाश, के. राधाकृष्णन र रोबर्ट ब्रुस पनि सवार थिए । विमानमा चालक दलका सदस्यसहित करिब १५० यात्रु रहेको बताइएको छ । डीजीसीएले घटनाको विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ ।








