Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनका समर्थक तथा शुभचिन्तकले यस वर्षको जनैपूर्णिमामा फरक ढंगले सम्झिएका छन् । लामिछानेको भौतिक अनुपस्थितिमा उनका समर्थकहरूले उनको ‘कट आउट’ (डमी तस्बिर) मा राखी बाँधेर उनको सुस्वास्थ्य र शीघ्र रिहाइको कामना गरेका छन् ।

काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय र रुपन्देही कारागार नजिकै आयोजित कार्यक्रममा भावुक दृश्यहरू देखिएका थिए । शनिबार जनैपूर्णिमाका अवसरमा काठमाडौंको घन्टीघरस्थित रास्वपा केन्द्रीय कार्यालयमा भेला भएका समर्थकहरूले लामिछानेको ठूलो आकारको ‘कट आउट’लाई विधिपूर्वक पूजा गरी राखी बाँधिदिएका हुन् ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, जेलमा रहेका अध्यक्षलाई राखी बाँध्न नपाएकोमा समर्थकहरूले प्रतीकात्मक रूपमा सम्झना गरेका हुन् । ‘हामीले राखी बाँध्न पाएनौं, सबैले तपाईंलाई धेरै मिस गरेका छौं, सम्झिएका छौं भन्ने सन्देशसहित समर्थक, शुभचिन्तक र पार्टी नेता-कार्यकर्ताले राखी बाँधिदिनुभयो,’ प्रवक्ता झाले भने ।

कार्यक्रममा सांसद लक्ष्मी तिवारी र नेता दीपक बोहरालगायतका नेताहरूको पनि उपस्थिति थियो । एक ब्राह्मणले विधिपूर्वक पूजा गरेर कार्यक्रमको सुरुवात गरेपछि उपस्थित समर्थकहरूले पालैपालो ‘कट आउट’मा राखी बाँधेका थिए । सो क्रममा सांसद तिवारीसहित केही समर्थकहरू भावुक बन्दै रोएका थिए ।

यस्तै कार्यक्रम रुपन्देहीमा पनि आयोजना गरियो । रास्वपाका उपनेता विराजभक्त श्रेष्ठको नेतृत्वमा पार्टीका नेता-कार्यकर्ता र समर्थकहरूले कारागार नजिकैको एक मन्दिरमा लामिछानेको तस्बिरमा राखी बाँधेका थिए । प्रवक्ता झाका अनुसार, ‘रुपन्देहीमा जेलनजिकैको मन्दिरमा पनि दलका उपनेता विराजभक्त श्रेष्ठको नेतृत्वमा राखी बाँध्ने उस्तै प्रतीकात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।’

तपाईको प्रतिक्रिया