समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको अवसरमा शुभकामना दिएका छन्। उनले शनिबार सामाजिक सञ्जालमार्फत सबै नेपालीलाई यी पर्वका लागि शुभकामना व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीका अनुसार श्रावण शुक्ल पूर्णिमाका दिन तीनवटा सांस्कृतिक पर्व—जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धन—मनाइन्छ। उनका शब्दमा, “वर्षे बाली लगाइसकेपछि चिसोबाट बच्न गेँडागुडी खाने पर्वका रूपमा हाम्रा पुर्खाले यसलाई मनाउँदै आएका छन्।”
उनले जनैपूर्णिमालाई सत्य, शुद्धता र स्वअनुशासनको प्रतीकका रूपमा व्याख्या गरे भने रक्षाबन्धनलाई आत्मीयजनबीचको सम्बन्ध मजबुत बनाउने पर्वका रूपमा उल्लेख गरे। ओलीका अनुसार, ऋषि तर्पणी प्राचीन विद्वान्हरूको ज्ञानप्रति सम्मानस्वरूप मनाइने पर्व हो।
आज देशभर नव यज्ञोपवीत (जनै) धारण गर्ने, रक्षाबन्धन बाँध्ने र ऋषि तर्पणी गर्ने प्रथासहित यी पर्वहरू मनाइँदै छन्।








