
काठमाडौं – रुपन्देही क्षेत्र नम्बर ३ मा हुन गइरहेको उपनिर्वाचनले राजनीतिक वृत्तमा सरगर्मी बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सम्भावित उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेसँगै यो चासो थप चुलिएको हो ।
सार्वजनिक गरिएको ९ जना आकांक्षीको सूचीमा नेकपा एमालेको राजनीतिक विरासत बोकेका परिवारका सदस्यदेखि उपनिर्वाचनकै लागि अमेरिकाबाट फर्किएका युवासम्म समेटिएपछि यसले सबैको ध्यान तानेको छ । सूचीमा सबैभन्दा बढी चर्चामा रहेका व्यक्ति हुन्, पार्थिवेन्द्र उपाध्याय । उनी सूचीको दोस्रो नम्बरमा छन् र उनको पारिवारिक पृष्ठभूमि नेकपा एमालेसँग गहिरो गरी जोडिएको छ । उनका बुवा धनपति उपाध्याय एमालेका पूर्वसांसद थिए भने आमा पुष्पाञ्जली उपाध्याय पनि एमालेकी नेतृ हुन् । अझ रोचक त के छ भने, उनकी श्रीमती उमा अधिकारी हाल सिद्धार्थनगर नगरपालिकाकी उपमेयर हुन् र उनी एमालेबाटै निर्वाचित भएकी थिइन् ।
एमालेको यस्तो बलियो राजनीतिक विरासत भएको परिवारका सदस्य भए पनि पार्थिवेन्द्रले भने आफूलाई सधैँ वैकल्पिक राजनीतिको पक्षमा उभ्याएको दाबी गर्छन् । रुपन्देही क्याम्पस प्रमुखबाट राजीनामा दिएर चुनावी दौडमा होमिएका उनले आफ्नो परिवार एमालेमा भए पनि त्यहाँको कार्यशैलीप्रति आफू कहिल्यै आकर्षित नभएको बताए । उनले २०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवारी दिएको स्मरण गर्दै आफूले यस क्षेत्रका समस्यालाई नजिकबाट बुझेको र त्यसको समाधानका लागि रास्वपा उपयुक्त मञ्च भएको विश्वास व्यक्त गरे ।
रास्वपाको सूचीको पहिलो नम्बरमा रहेका सुलभ खरेलको कथा पनि उत्तिकै रोचक छ । अमेरिकामा बस्दै आएका कानुनका विद्यार्थी खरेल यही उपनिर्वाचनमा भाग लिन नेपाल फर्किएका हुन् । उनले पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कानुनी रूपमा सघाएको पार्टी कार्यकर्ताहरू बताउँछन् ।
त्यस्तै, आकांक्षीहरूको सूचीमा अन्य पेसा र क्षेत्रका व्यक्तिहरू पनि सामेल छन् । न्युरो सर्जन डा. लेखजङ्ग थापा, गैरसरकारी संस्था सञ्चालनको लामो अनुभव बोकेका र पछिल्लो समय सहकारी अभियन्ताका रूपमा चिनिएका ज्ञानु पौड्याल, र अघिल्लो निर्वाचनमा पनि रास्वपाबाटै उम्मेदवार बनेका जितबहादुर (शेखर) गुप्ताले पनि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
सूचीमा भक्तपुर निवासी कुसुम महर्जन, पार्टीका क्षेत्रीय सभापति मधु प्रकाश अर्याल, रास्वपा रुपन्देहीकी कोषाध्यक्ष रचना क्षेत्री र महिला उद्यमी पुनम कुमारी अग्रवाल पनि अटाएका छन् । यसरी हेर्दा रास्वपाले सार्वजनिक गरेको सूचीमा एमाले पृष्ठभूमि भएका व्यक्तिहरूको बाहुल्य देखिनुले उपनिर्वाचन थप प्रतिस्पर्धात्मक र रोचक हुने संकेत गरेको छ ।
उम्मेदवार छनोटमा नौलो प्रयोग
उम्मेदवार छनोटका लागि अपनाएको नौलो र पारदर्शी प्रक्रियाले यसलाई थप रोचक बनाएको छ । पार्टीले प्राइमरी निर्वाचन, राजनीतिक सक्रियता, समावेशिता र नेतृत्व क्षमताजस्ता चार मापदण्डका आधारमा भदौ १५ गते अन्तिम उम्मेदवार टुंगो लगाउनेछ ।
पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यका अनुसार, उम्मेदवार छनोटमा सबैभन्दा बढी ५० प्रतिशत अंकभार प्राइमरी निर्वाचनको हुनेछ, जहाँ पार्टी सदस्यहरूले मोबाइल एपमार्फत भदौ १२ र १३ गते अनलाइन भोटिङ गर्नेछन् । समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने छ ।
मतदातालाई सूचीका कुनै पनि उम्मेदवार मन नपरे ‘नन अफ द एबोभ’ (कुनै पनि उम्मेदवार मन परेन) मा मतदान गर्ने अधिकार समेत दिइएको छ । यदि यही विकल्पले बहुमत पाएमा सम्पूर्ण उम्मेदवार स्वतः खारेज भई नयाँ प्रक्रिया थालिनेछ ।
विगतको अंकगणित
२०७९ सालको निर्वाचनमा एमालेको समर्थनमा राप्रपाका दीपक बोहराले ३६ हजार ७ सउ १७ मत ल्याएर जितेका थिए भने कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६ मत पाएका थिए । यद्यपि, समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा बढी २० हजार २ सय ७८, एमालेले १६ हजार ९ सय ८६ र रास्वपाले १४ हजार १ सय ५४ मत पाएको थियो । यो नतिजाले क्षेत्रमा रास्वपाको पनि बलियो उपस्थिति देखाउँछ ।
२०७४ मा एमालेका घनश्याम भुसालले जितेको यो क्षेत्रमा गठबन्धन र दलीय समीकरणहरू बारम्बार फेरबदल भइरहेका छन् । रास्वपाको पारदर्शी छनोट प्रक्रिया र विगतको चुनावी अंकगणितले रुपन्देही-३ को उपनिर्वाचनलाई अत्यन्तै प्रतिस्पर्धात्मक र अप्रत्याशित बनाएको छ ।








