काठमाडौं – चर्चित लोकगायक पशुपति शर्मा सवार कार दुर्घटनामा परेको छ । बुधबार दिउँसो सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका-२ मा उनी सवार कार अनियन्त्रित भई दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पोखराबाट वालिङतर्फ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई सडक छेउको कल्भर्टमा ठोक्किएको थियो । दुर्घटनामा गायक शर्माको देब्रे हातको कान्छी औंला भाँचिएको छ ।
यद्यपि, कारमा सवार अन्य तीन जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी बाबुराम न्यौपानेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ ।
शर्मा आफ्नो लोकप्रिय र व्यङ्ग्यात्मक लोकगीतका कारण नेपाल तथा विदेशमा रहेका नेपालीमाझ अत्यन्तै लोकप्रिय छन् । उनको दुर्घटनाको खबरसँगै सामाजिक सञ्जालमा शुभचिन्तकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन् ।








