समाचार सुन्नुहोस :
काठमाडौँ – प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ माथि विचार गर्न प्रस्ताव पेश गर्ने कार्यसूची छ। त्यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८०’ मा राष्ट्रियसभाले गरेको संशोधनबारे विचार गर्न प्रस्ताव पेश गर्नेछन्।
यससँगै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति, तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका बैठकहरू पनि आज बस्नेछन्। अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ‘लुम्बिनी विकास कोषको अवस्था, प्रगति र चुनौती’बारे छलफल गर्नेछ। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ का दफावार छलफल हुनेछ।
विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनबारे छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदन’माथि छलफल हुनेछ।








