समाचार सुन्नुहोस :
काठमाडौँ – पटक–पटक विवादमा आउने शर्मिला वाइबा मंगलबार साइबर अपराधको आरोपमा पक्राउ परेकी छिन्। यसअघि पनि यस्तै आरोपमा दुई पटक पक्राउ परेर उनी अदालतबाट धरौटीमा छुटेकी थिइन्। उनकै सहकर्मीले साइबर ब्यूरोमा दिएको जाहेरीका आधारमा पोखरामा रहेकी वाइबा त्यहीँबाट पक्राउ परेकी हुन्। ब्यूरोका अनुसार साउन १६ गते काठमाडौं जिल्ला अदालतले उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।
पोखरामा पक्राउ परेकी वाइबालाई प्रहरीले काठमाडौं पठाउँदैछ। सहकर्मीको जाहेरीबारे विस्तृत कारण भने सार्वजनिक गरिएको छैन। सामाजिक अभियन्ता भएको दाबी गर्दै आएकी वाइबा सामाजिक सञ्जाल र युट्युबमार्फत चरित्रहत्या गर्ने कुरा लेख्ने र बोल्ने गरेको आरोपमा यसअघि पनि पक्राउ परेकी थिइन्।
दुई मुद्दामा धरौटीमा छुटेकी वाइबामाथि कुटपिटको अभियोग पनि लागेको थियो। केही महिना अघि उनी आफ्नै साथीबाट कुटिएको घटना सार्वजनिक भएको थियो। टाउकोमा गम्भीर चोट लागेपछि उनको जाहेरीका आधारमा प्रहरीले शर्मिला श्रेष्ठलाई पक्राउ गरेको थियो।








