Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, नागोया क्षेत्रीय समन्वय परिषद्को नव निर्वाचित कार्यसमितिले भव्य समारोहबीच पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै जिम्मेवारी सम्हालेको छ । आइतबार नागोयाको ओका काइकान हलमा आयोजित कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष योमन देवानले आगामी दुई वर्षे कार्यकाल गफमा नभई ठोस काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचन समितिको आयोजनामा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा निवर्तमान कार्यसमिति, नेपाली समुदायका अगुवाहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नयाँ कार्यसमितिलाई बधाई दिँदै संस्थालाई थप पारदर्शी, सक्रिय र समुदायप्रति उत्तरदायी बनाउन सुझाव दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का सचिव पारसमणि पोखरेलले नेपाली समुदायभित्र देखिएका मतभेदलाई बिर्सेर साझा मञ्चमा सबैलाई जोड्ने जिम्मेवारी नयाँ समितिको काँधमा आएको बताए । उनले भने, ‘फरक विचारहरू होलान्, तर साझा हितका लागि एकता र सहकार्यको भावनालाई अझ बलियो बनाउनु आवश्यक छ ।’

यसैगरी, एनआरएनए जापानका नवनिर्वाचित महासचिव श्यामशित्तल श्रेष्ठले समुदायका सबै वर्ग र क्षेत्रका नेपालीलाई समेट्ने गरी समावेशी कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नागोयाका पुराना अगुवा तथा सल्लाहकारहरूले नयाँ कार्यसमितिलाई व्यावहारिक सुझावहरू दिएका थिए । सल्लाहकार डिलाराम खरेलले संस्थाले स्थानीय जापानी प्रशासनसँग संवाद र सम्बन्ध विस्तारको पुल बन्न सक्नुपर्ने आवश्यकता औंल्याए । निवर्तमान अध्यक्ष भेषनाथ गौतमले आफ्नो कार्यकालको अनुभव सुनाउँदै स्वास्थ्य, आप्रवासन वा अन्य कुनै पनि आपतकालीन अवस्थामा तत्काल सहयोग गर्न सक्ने संयन्त्रको स्थापनामा जोड दिए । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, सल्लाहकार यम खत्रीले नयाँ पुस्तालाई नेपालीपनसँग जोडि राख्न भाषा, संस्कृति र परम्पराको संरक्षणमा संस्थाले विशेष अभियान चलाउनुपर्ने बताए । निर्वाचन पर्यवेक्षण समितिका संयोजक रामु खरेलले संस्थाको कार्यशैली पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिए ।

सबैको सुझाव र शुभकामना ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष योमन देवानले आफ्नो कार्यकालको कार्ययोजना प्रस्तुत गरे । ‘अतिथिहरूले दिनुभएका हरेक सुझाव हाम्रो लागि मार्गदर्शन बन्नेछ,’ अध्यक्ष देवानले भने, ‘अब हाम्रो सम्पूर्ण ध्यान घोषणापत्रमा गरिएका वाचाहरू पूरा गर्ने, समुदायसँग प्रत्यक्ष संवाद गर्ने र उहाँहरूको विश्वास जित्नेमा केन्द्रित हुनेछ । यो गफ गर्ने होइन, काम गरेर परिणाम देखाउने समय हो ।’

उनले आफ्नो कार्यकालमा निम्न पाँच विषयलाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गरे:-

  • समुदायमैत्री कार्यक्रम सञ्चालन

  • आपतकालीन सहायता कोषको स्थापना

  • जापानी निकायहरूसँग सम्बन्ध सुदृढीकरण

  • पारदर्शी सूचना प्रणालीको निर्माण

  • भाषा तथा संस्कृति संरक्षण अभियान

निर्वाचन समितिका संयोजक दीपक कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समितिका सचिव हरि पोखरेलले सञ्चालन गरेका थिए । कार्यक्रममा एनआरएनए आइसीसी इण्भेष्मेण्ट टास्क फोर्स सदस्य सुरेशचन्द्र उपाध्याय, नागोयाका सल्लाहकार चिरञ्जीवी सिग्देल, मानार्थ सदस्य सुशील गिरी तथा अभियन्ताहरू नरबहादुर थापा, भानु पुरी, गोविन्द भुषाल, गङ्गा घर्ती मगर लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया