समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ कसूर मुद्दामा पक्राउ परेका छन्। पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुरका तेलीलाई वीरगन्जको श्रीपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।
लम्सालका अनुसार क्रान्ति गुप्ता र अर्का एक व्यक्तिले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो। तेलीले आफ्नो बैंक खातामा रकम नभएको अवस्थामै १० लाख र ६ लाख रुपैयाँका गरी दुईवटा चेक दिएका थिए। ती दुवै चेक बाउन्स भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
पक्राउ परेका तेलीलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। २०७९ को प्रदेशसभा निर्वाचनमा नेपाल सुशासन पार्टीबाट पर्सा–३ (क) बाट उम्मेदवार बनेका तेली चुनाव हारेपछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए। यसअघि उनी जनता समाजवादी पार्टी नेपालमा थिए।
तेली यसअघि मधेस प्रदेश सरकारले किसानका लागि ल्याएको करोडौं मूल्यको कृषि उपकरण खरिदमा अनियमितता गरेको आरोपमा पनि विवादमा मुछिएका थिए। उनले अध्यक्ष रहेको जय महावीर कृषि सहकारीमार्फत योजना ल्याई कागजी प्रक्रिया पूरा गरेर रकम दुरुपयोग गरेको आरोप लागेको थियो।








