Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – प्रमुख दलहरूको अकर्मण्यता र आन्तरिक किचलोबाट वाक्क भएका जनतालाई विकल्प दिने नारासहित उदाएका नयाँ राजनीतिक शक्तिहरू पनि पुरानै रोगले ग्रस्त बन्न थालेका छन् । निराशामा आशाको दियो बाल्ने वाचा गरेर संसद् पुगेका यी दलहरू वैचारिक बहस वा नीतिगत मतभेदले होइन, बरु शक्ति, पद र प्रतिष्ठाको लडाइँमा अल्झिँदा विस्तार नहुँदै विभाजनको संघारमा पुगेका छन् । यसले वैकल्पिक राजनीतिमाथि नै गम्भीर प्रश्न खडा गरेको छ ।

यो संकटको भुमरीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) देखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) सम्म फसेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अपेक्षित गति लिन सकेको छैन भने मधेश केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी पनि आन्तरिक कलहबाट अछुतो छैनन् । रोचक त के छ भने, यी सबै दलले ठूला दलहरूलाई ‘सिन्डिकेट’को आरोप लगाउँदै आफूलाई सुसंस्कृत राजनीतिको पर्याय दाबी गरेका थिए । तर, व्यवहारमा उनीहरू पुरानै दलहरूको पदचाप पछ्याइरहेको देखिन्छ ।

नाउपामा पारिवारिक कलह
थारु समुदायको मुद्दा बोकेर राजनीतिमा आएको नागरिक उन्मुक्ति पार्टी यतिबेला पारिवारिक कलहको बन्धक बनेको छ । संस्थापक संरक्षक रेशमलाल चौधरी र अध्यक्षसमेत रहेकी उनकी पत्नी रञ्जिता श्रेष्ठबीचको शक्ति संघर्षले पार्टीलाई नै लथालिंग बनाएको छ । पोखराको जग्गा प्रकरणमा अध्यक्ष श्रेष्ठ मुछिएपछि चर्किएको विवाद उनलाई बर्खास्त गर्नेसम्म पुगेको छ ।

रेशम पक्षले हालै भेला गरेर उनकै बुबा लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको छ । उता, रञ्जिताले उक्त भेला र निर्णयलाई विधानविपरीत भन्दै अस्वीकार गरेकी छन् । वैचारिक बहस शून्य रहेको नाउपामा व्यक्तिगत टकराव र पारिवारिक प्रतिष्ठाको लडाइँले पार्टीको भविष्य नै अन्धकारतर्फ धकेलिदिएको छ ।

एकीकृत समाजवादीमा विद्रोहको औचित्यमाथि प्रश्न
नेकपा (एमाले) बाट विद्रोह गरेर गठन भएको एकीकृत समाजवादी पार्टीभित्र विद्रोहको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । सम्मानित नेता झलनाथ खनालले सार्वजनिक रूपमै ‘एमाले विभाजन गर्नु गलत थियो’ भन्ने आशयको अभिव्यक्ति दिएपछि पार्टीमा भूकम्प गएको छ । खनालको उक्त टिप्पणीप्रति आगो बनेका अध्यक्ष माधवकुमार नेपालले नैतिकता भए खुरुक्क राजीनामा दिएर जान चेतावनी दिएका छन् ।

विराटनगरमा अध्यक्ष नेपालले भने, ‘यदि उहाँले त्यसो भन्नुभएकै हो भने पार्टीमा बस्ने नैतिक आधार समाप्त भयो, राजीनामा दिएर बिदा हुनुपर्छ ।’ यसअघि पतञ्जलि प्रकरणमा अध्यक्ष नेपालको आलोचना गरेकी नेतृ रामकुमारी झाँक्रीको अभिव्यक्तिले सिर्जना गरेको तरंग नसेलाउँदै शीर्ष नेताहरूबीचको यो वाकयुद्धले पार्टीको आन्तरिक एकता कति कमजोर छ भन्ने उदांगो पारेको छ ।

राप्रपामा मोर्चाबन्दी
राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा बोकेको राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध महामन्त्री धवलशमशेर राणा पक्षले मोर्चाबन्दी गरेको छ । अध्यक्ष लिङ्देनले आफूखुसी निर्णय गरेको, विधान मिचेको र एकलौटी ढंगले पार्टी चलाएको आरोप असन्तुष्ट पक्षको छ ।

लिङ्देनले अनुशासन समितिका संयोजकदेखि प्रवक्तासम्मलाई पदमुक्त गरेपछि विवाद निर्वाचन आयोगसम्म पुगेको छ । निष्कासित पदाधिकारीहरू आफ्नो पुनर्बहालीको माग गर्दै आयोग पुगेका छन् । उता, अध्यक्ष लिङ्देनले भने विचार र नेता मन नपर्नेहरूलाई महाधिवेशन कुर्न वा पार्टी छोडेर जान चेतावनी दिएका छन् । ‘विचार मिल्नेले पार्टी चलाउने हो, मन नपरे महाधिवेशनमा हराउने, अरू बेला कचकच गर्ने होइन,’ उनको भनाइले पार्टीभित्रको दूरी उत्कर्षमा पुगेको संकेत गर्छ ।

नयाँ दलहरूको यो अवस्थाले प्रमुख दलहरूलाई व्यंग्य गरिरहेको छ, किनकि उनीहरू आफैँ पनि यस्तै समस्याले जेलिएका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र अनुशासनको कारबाहीले सुरु भएको विवाद साम्य भएको छैन । सरकारको नेतृत्व गरिरहेको एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक पुनरागमनको प्रयासलाई अध्यक्ष केपी ओलीले रोकेपछि किचलो चर्किएको छ । माओवादी केन्द्रमा पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य नेताहरूबीच शक्ति संघर्ष चलिरहेकै छ ।

समग्रमा, नेपालको राजनीतिमा ‘नयाँ बोतलमा पुरानै रक्सी’को उक्ति चरितार्थ भएको छ । दलहरू नयाँ हुन् वा पुराना, सबैको मूल समस्या सिद्धान्त र विचारभन्दा माथि उठेर व्यक्तिगत स्वार्थ र शक्तिको खेलमा केन्द्रित हुनु हो । यसले राजनीतिप्रति जनतामा बढ्दो वितृष्णालाई थप गहिरो बनाउने निश्चित छ ।

तपाईको प्रतिक्रिया