समाचार सुन्नुहोस :
काठमाडौँ – दिवंगत पपस्टार माइकल ज्याक्सनको पुरानो र प्रयोग गरिएको मोजा फ्रान्समा ८ हजार अमेरिकी डलरमा बिक्री भएको छ। क्रिस्टल जडित यो चम्किलो मोजा ज्याक्सनले सन् १९९७ मा ‘हिस्ट्री वर्ल्ड टुर’को क्रममा फ्रान्सको निमेसमा भएको कन्सर्टमा लगाएका थिए।
कन्सर्टपछि एक स्टेज प्राविधिकले उनको ड्रेसिङ रुम नजिकै मोजा फ्याँकिएको अवस्थामा भेट्टाए र दशकौंसम्म सुरक्षित राखे। लामो समयसम्म राखिएकाले मोजामा पहेँलोपन र दाग देखिन्थे।
लिलामीकर्ता औरोर इलीका अनुसार यो मोजा ज्याक्सनका प्रशंसकका लागि एक ‘कल्ट’ वस्तु हो। सुरुमा यसको मूल्य ३,४००–४,५०० डलर हुने अनुमान भए पनि प्रशंसक र संकलनकर्ताले धेरै मूल्य तिरेर खरिद गरे।
यो मोजा ज्याक्सनले ‘बिली जीन’ गीतको प्रस्तुति दिने क्रममा पनि लगाएका थिए, जुन भिडियोमा देख्न सकिन्छ। पपस्टार ज्याक्सनको सन् २००९ मा ५० वर्षको उमेरमा लागूपदार्थको ओभरडोजका कारण मृत्यु भएको थियो।








