समाचार सुन्नुहोस :
काठमाडौँ – पूर्वराजपरिवारका सदस्य हृदयेन्द्र शाह हाल अमेरिकामा ब्याचलर अध्ययन गर्दै छन्। केही समयअघि उनी आमा हिमानी शाहसँग जुम्लामा एक शिलान्यास कार्यक्रममा सहभागी भए।
उनको भ्रमणका विभिन्न दृश्यहरू — स्थानीयसँगको कुराकानी, गीत सुन्ने, होटलमा खाजा खाने, कलेज अवलोकन गर्ने लगायतका क्लिपहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित धेरैले ती भिडियो शेयर गरेका छन्। जुम्लामा उनले एक किशोरीको गीत सुने, होटलमा चिया र स्थानीयले बनाएको केक खाए, र बेभ सिरिजको पोस्टरबारे मजाकिया शैलीमा कुरा गरे। त्यस्तै, इन्जिनियरिङ कलेजका विद्यार्थीहरूसँग भेटेर ८ सय विद्यार्थी रहेको थाहा पाएपछि कलेजभित्र घुमे।
स्थानीयहरूसँग आत्मीयतापूर्वक कुरा गर्दै उनले धेरैसँग सेल्फी खिचे। उनले पहिलोपटक जुम्ला आएको बताउँदै, हिमाली जिल्लामध्ये केही अझै घुम्न बाँकी रहेको सुनाए। रारा ताल घुमिसकेको अनुभव पनि बाँडे। देश विकासबारे प्रश्न गर्दा उनले भने, “तपाईं हामी सबै मिलेर लाग्यौं भने देश बन्छ।” उनले फर्केर नेपाल आउने योजना भएको र कर्णाली नदीको सौन्दर्यको प्रशंसा पनि गरे।








