समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा भएको बहसको प्रशंसा गर्दै सदस्यहरूलाई धन्यवाद दिएका छन्। उनले बहस गहिरो, विषयकेन्द्रित र सभाको गरिमा अनुसार भएको बताएका छन्।
बुधबार राष्ट्रियसभामा “नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” माथि छलफल भएको थियो। यो विषयमा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले अध्ययन गरेको थियो। प्रतिवेदनमाथि भएको बहस सुनेपछि जवाफ दिन उठेका प्रधानमन्त्री ओलीले सुरुमै सभाध्यक्षले राखेको अपेक्षा अनुसार नै छलफल भएको बताए। उनका अनुसार बहस छोटो समयमै प्रभावकारी रूपमा सम्पन्न भएको थियो।
सभाध्यक्ष नारायण दाहालले सांसदहरूलाई तीन मिनेट समय दिँदै विषयमा केन्द्रित भएर बोल्न आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीले सांसदहरूले समयसीमा भित्र पूर्ण तयारीसहित बोल्दै केही पनि नछुट्ने गरी आफ्नो विचार राखेको भन्दै प्रशंसा गरे। उनले बहसको शैली, तरिका र गहिराइका लागि सबै सदस्यहरूलाई धन्यवाद दिएका छन्।








