Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

काठमाडौं – झन्डै दुई दशक पुरानो हवाई नीतिलाई प्रतिस्थापन गर्ने उद्देश्यले सरकारले नयाँ हवाई नीतिको मस्यौदा तयार पारेको छ । मस्यौदामा नेपाली नागरिकले निजी प्रयोजनका लागि जहाज किन्न पाउने र पुराना विमान आयातमा कडाइ गर्ने जस्ता कैयौँ दूरगामी महत्त्वका व्यवस्थाहरू प्रस्ताव गरिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको मस्यौदामाथि सरोकारवालासँग सुझाव सङ्कलन भइरहेको छ । यद्यपि, प्रारम्भिक चरणमा रहेकाले यसका प्रावधानहरू अन्तिम नभएको र परिमार्जन हुन सक्ने जानकारहरू बताउँछन् । नीतिको सबैभन्दा चर्चित प्रस्तावमध्ये नेपाली नागरिक वा संस्थालाई निजी प्रयोजनका लागि वायुयान सञ्चालन अनुमति दिने व्यवस्था हो ।

विश्वका विकसित देशहरूमा व्यवसायी तथा कलाकारहरूले निजी जेट प्रयोग गरेजस्तै अब नेपालमा पनि त्यसको ढोका खुल्ने संकेत देखिएको छ । ‘निजी प्रयोजनको लागि कुनै व्यक्ति वा संस्थालाई वायुयान सञ्चालन गर्न अनुमति दिने व्यवस्था गरिने छ,’ मस्यौदामा भनिएको छ, ‘तर, यस्तो अनुमति दिँदा व्यापारिक उडान गर्न नपाउने गरी हवाई उडान सुरक्षा र हवाई सुरक्षाका अनिवार्य प्रावधानहरूसहितका आवश्यक सर्तहरू तोकिने छन् ।’

पुराना जहाज आयातमा कडाइ
हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ नीतिले पुराना जहाज आयातमा कडा मापदण्ड प्रस्ताव गरेको छ । जसअनुसार:

  • ‘प्रेसराइज्ड’ वायुयान: १५ वर्षभन्दा पुरानो, ‘ईकनोमिक डिजाइन लाइफ’को ५० प्रतिशत पूरा गरेको, वा ३५,००० ‘प्रेसराइजेशन साइकल’ पूरा गरेको वायुयानको आयात निषेध गरिनेछ ।

  • ‘नन्‌प्रेसराइज्ड’ वायुयान: २० वर्षभन्दा पुराना वायुयान आयात गर्न अनुमति दिइने छैन ।

विसं २०६३ मा जारी भएको हालको नीति समयसापेक्ष नभएको भन्दै नयाँ नीतिको आवश्यकता औँल्याइएको हो । मस्यौदामा भनिएको छ, ‘हवाई क्षेत्रमा भएका नवीनतम परिवर्तन, सिर्जित अवसर तथा चुनौतीको सामना गर्न, सङ्घीय शासन व्यवस्थालाई सम्बोधन गर्न र विकसित प्रविधि अङ्गीकार गर्दै लगानीमैत्री वातावरणमार्फत् सुरक्षित, भरपर्दो र सर्वसुलभ सेवा प्रत्याभूत गर्न नयाँ नीति आवश्यक भएको हो ।’

तपाईको प्रतिक्रिया