
राष्ट्रहरुबीचको पारस्परिक सम्बन्ध विकासका लागि उनिहरुले एक–अर्कामा कूटनीतिक सम्बन्ध स्थापना गरेका हुन्छन् । राष्ट्र ठूलो होस वा सानो, कूटनीतिक सम्बन्ध स्थापना हुनसक्छ । विश्वको सबभन्दा सानो राष्ट्र हो, होली सी । यसको क्षेत्रफल जम्मा शून्य दशमलव ९७ वर्ग किलोमिटर मात्र छ । यो एउटा अजंगको पर्खाल भित्र छ । सबभन्दा गजबको कुरा त यो रोम सहर भित्र नै छ । होली सी (भ्याटिकन बोलिने भाषामा) ले विश्वको सबैभन्दा ठूलो राष्ट्र रसियन फेडरेशन (कुल क्षेत्रफल १ करोड ७८ लाख वर्गकिमी क्षेत्रफल भएको) संग कूटनीटिक सम्बन्ध स्थापना गरेको छ ।
राष्ट्र–राष्ट्रबीचको सम्बन्धलाई थप बढोत्तरी तथा सुदृढ गर्न कूटनीतिज्ञहरुले काम गरिरहेका हुन्छन् । कूटनीतिक पेशामा लवाई, खवाई, बोलाई तथा ज्ञानको अहम महत्व रहन्छ । कूटनीतिको माध्यमबाट नै राष्ट्र–राष्ट्रबीच आउने समस्याहरु तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आउने गहन समस्याहरु समेत सल्टाइएका धेरै उदाहरणहरु पाईन्छ । कूटनीतिमा भ्रमणहरुको आदान प्रदानले पनि महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।
सन् १९५६ को १ सेप्टेम्वरका दिन विधिवत रुपमा नेपाल र जापान दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । अर्काे वर्ष यो सम्वन्धले ७० वर्षमा प्रवेश गर्दै छ । जापानमा राष्ट्रप्रमुखका रुपमा सम्राट हुनुहुन्छ । तर नेपालमा गत १७ वर्ष अगाडि देखि राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति हुनुहुन्छ । देशमा राजनीतिक नेतृत्वमा परिर्वतन हुँदा पनि राष्ट्र–राष्ट्रबीचको सम्बन्धमा खासै असर गर्दैन । तर अपवादको रुपमा यदाकदा राष्ट्रहरुबीच सम्बन्धमा आँच आएको घटना पनि नभएका होईनन् ।
सन् १९८३ मा म्यानमारमा जलमार्ग प्रयोग गरी उत्तर कोरियाका केहि अवाञ्छित व्यक्तिहरुले आक्रमण गरी दक्षिण कोरियाका प्रतिनिधि मण्डलका सदस्यहरुको हत्या गरेका थिए । जसको फलस्वरुप म्यानमारले तुरुन्त उत्तर कोरियासंगको आफ्नो सम्बन्धलाई तल झारेको थियो । कूटनीतिक सम्बन्ध भने टुटाएन ।
नेपाल तथा जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना पश्चात् सन् १९६९ देखि जापान सरकारले बिभिन्न रुपमा नेपाललाई सहयोग प्रदान गर्दै आएको हो । जसअनुसार जापानले ऋण, अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ । अब दुई देशबीच हुने गरेका उच्चस्तरिय भ्रमणहरुको कुरा गर्दा हालका सम्राट नारुहितो युवराज हुँदा सन् १९८७ मा नेपाल भ्रमणमा आउनुभएको थियो । भ्रमणमा आउनु अगाडि भलाकुसारी तथा शुभकामना दिनका लागि तत्कालिन राजदूत र म ईम्पोरियल प्यालेसमा पुगेका थियौं । सम्राट अकिहितोले आफ्ना छोरालाई नेपालका तत्कालिन राजा वीरेन्द्र तथा रानी ऐश्वर्यलाई योरोसिकु सुनाईदिनु भनि अह्राउनुभएको थियो । सम्राट अकिहितो तथा साम्राज्ञी मिचिकोले पनि दुई पटक नेपालको औपचारिक भ्रमण गर्नुभएको छ । साथै सम्राट अकिहितोको बहिनी राजकुमारी चिचिबुबाट पनि सन् १९८५ मा नेपालको भ्रमण भएको र अत्यन्तै खुशी भएर फर्कनुभएको रहेछ । जापान फर्केपछि उहाँले जताततै नेपालको प्राकृतिक सौन्दर्यताका बारेमा बयान गर्नुभएको कुरा सुन्नमा आएको थियो ।
हालका सम्राट नारुहितोका भाइबुहारी राजकुमार अकिशिनो तथा राजकुमारी किको पनि सन् १९९७ मा नेपाल भ्रमणमा आउनुभएको थियो । त्यसबेला म परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्रसंघ महाशाखामा उपसचिवको रुपमा कार्यरत थिएँ । जापानी भाषा बुझ्न र बोल्न सक्ने भएकोले सचिवले मलाई पनि नेपाली प्रतिनिधिमण्डलमा राख्नुभएको थियो । त्यतिबेलाको एउटा अविस्मरणीय कुरो के भने हाम्रो सिष्टममा ड्रेस कोडलाई कडाईका साथ पालना गरिन्छ । सेतो दौरासुरुवाल, कालो टोपी र कालो जुत्ता लगाई १२ बजे तिरको टन्टलापुर घाममा पहाडको टुप्पोको बाटोमा लठ्ठी टेक्दै सराङकोटको डाँडा चढेको अझै पनि याद आउँछ ।
त्यसबखत टोकियोस्थित हाम्रो राजदूताबासमा काम गर्दा एउटा कुरा सँधै खड्कीरहन्थ्यो त्यो के भने हालसम्म जापानका प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण हुन नसकेको कुरो । तर समयले यस्तो सुदिन पनि ल्याईदियो कि, कुरो सन् २००० को हो, तात्कालिन प्रधानमन्त्री योशिरो मोरी हुनुहुन्थ्यो भने केदारभक्त माथेमा जापानका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । एक दिन बिहान एउटा सनसनीपूर्ण खबर आईपुग्यो । जापानका प्रधानमन्त्री मोरी भारत, पाकिस्तान तथा बंगलादेशको भ्रमणमा जाँदैछन् अरे तर नेपाल भने समावेश छैन । हामीलाई यो खबर करेन्टको झड्का जस्तै लाग्यो । अविलम्ब जापानको परराष्ट्र मन्त्रालयमा गएर कुरा बुझयौं । खबर साँचो रहेछ । अनि हामीले प्रधानमन्त्री मोरीको भ्रमणमा नेपाल पनि समावेश गराईनुपर्दछ भनेर माग राख्यौं । हाम्रो सरकारको तर्फबाट पनि पूरै समर्थन रह्यो । नेपालप्रति सद्भाव राख्ने जापानीहरुले पनि परराष्ट्र मन्त्रालयमा फोन तथा पत्रबाट दबाव सिर्जना गरे । अन्ततोगत्वाः अब नेपालको भ्रमणमा जाने कि नजाने भन्ने कुराको निर्णयका लागि विषय प्रधानमन्त्री मोरीसम्म पुग्यो । अनि उहाँले ८ घण्टाका लागि भएता पनि नेपाल जाने तय गर्नुभएछ । यो सबैका लागि खुशीकोे खबर थियो ।
भ्रमण सम्पन्न हुनुभन्दा अघि एउटा प्राविधिक समस्या आईलाग्यो । त्यो के भने काठमाडौंको विमानस्थलमा बोइङ ७४७ जहाज उत्रन सक्तैन भन्ने कुरो राजदूत माथेमाले मलाई सुनाउनुुभयो । मैले उहाँलाई सन् १९८७ को १२ अक्टोबरका दिन एअर क्यानडाको बोइङ ७४७ जहाज यात्रुविहिन भए पनि उत्रिसकेको र त्यसको २ दिन अघि तिब्र गतिमा उड्ने कन्कर्ड विमान समेत उत्रिसकेको सुनाए ।
यो कुरा थाहा पाएपछि जापानी पक्षले नयाँ दिल्लीसम्म बोइङ ७४७ मा गएर त्यताबाट अलि सानो हवाई जहाजबाट नेपाल जाने निधो गरिएछ । जुन जहाजबाट आउनु भए पनि हाम्रा लागि जापानका बहालवाला प्रधानमन्त्रीको भ्रमण महत्वपूर्ण थियो । २५ अगष्ट २००० का दिन जापानी प्रधानमन्त्री योशियो मोरी ८ घण्टाका लागि नेपाल भ्रमणमा आउनु भई निकै खुशी भएर फर्कनु भएको थियो । भ्रमणबाट दुई देश बीचको सम्बन्धमा एउटा नयाँ आयाम थपिन पुग्यो । त्यसपछि पनि जापानका बिभिन्न तह–तप्काका मन्त्रीहरुले नेपालको भ्रमण गरिरहेका छन् र यो क्रम निररन्तर चलिरहने छ ।
त्यस्तै नेपालबाट पनि राजा महेन्द्र, राजा वीरेन्द्रबाट समय समयमा जापानको भ्रमणहरु सम्पन्न भएकाछन् । सन १९८५ मा राजा वीरेन्द्र तथा रानी ऐश्वर्य अष्ट्रेलियाको भ्रमण सकाई चुकुवा एक्स्पो–१९८५ मा आयोजित ‘नेपाल डे’ मा सरिक हुन टोकियो आईपुग्नु भएको थियो । त्यतिबेला म जापानी परराष्ट्र मन्त्रालयबाट आयोजित कूटनीतिक कार्यक्रममा अध्ययन गर्दैथिएँ । सन् १९९८ मा तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले जापानको भ्रमण गर्नुभएको थियो । हामो तर्फबाट पनि बिभिन्न तह र तप्काका धेरै मन्त्री तथा अन्य उच्च पदस्थ अधिकारीहरुले जापानको भ्रमण गरिसकेका छन् । अब त नेपाली ध्वजाबाहक विमान पनि काठमाडौंबाट सीधा नारिता एअरपोर्टसम्म उडान भर्ने भएकोले थप सहज भएको छ ।
नेपाल तथा जापानबीच सुमधुर राजनीतिक, कूटनीतिक तथा आर्थिक सम्बन्ध त छँदैछ । यसको अलावा अन्य बिभिन्न अवयवहरुले पनि दुई देशबीचको सम्बन्धमा थप योगदान पुग्ने गरेको छ । जापानमा नेपालको विभिन्न पक्षहरुको अलावा खाना तथा सँस्कृतिले पनि निकै प्रभाव पार्दै आएको छ । भगवान बुध्दको पावन जन्मभूमि लुम्बिनीमा आएर आफ्ना जीवन सफल भएको मान्ने जापानीहरु पनि धेरै छन् ।
यो लेख तयार गर्दैगर्दा मलाई सन २००५ को नोवेम्वर ६, ७ तिरको एउटा कुरा याद आयो । यताबाट तत्कालिन युवराज पारस जापानको औपचारिक भ्रमणमा जानुभएको थियो । उहाँको सम्मानमा जापान नेपाल पार्लियामेन्ट्री ग्रुपले दिवाभोजको आयोजना गरेको थियो । सो अवसरमा जापानका नेता तोशिहिरो निकाईले आफ्नो मन्तव्य राख्ने क्रममा भन्नुभएको थियो – ‘जापानमा रुलिङ पार्टी र प्रतिपक्षी पार्टीबीच एउटा कुरामा जहिले पनि सहमति हुन्छ, त्यो के हो भने नेपाललाई सहयोग गर्ने कुरा होे ।’ वाह क्या उदारभावना जापानी नेताहरुको, नेपाल र नेपालीहरुका लागि । हामीले धन्यबाद दियौं । यस्तो उत्कृष्ट वाक्यहरु कहिले पनि भुल्न सकिदैन ।
कतिपय युरोपियन देशहरुमा जस्तै जापानमा पनि जनसंख्या घट्नेक्रममा भएकोले आफ्नो उद्योग व्यवसाय, यथावत राख्न जापानलाई कामदारहरुको आवश्यकता बढ्दो छ । यो अवस्था भनेको नेपालीहरुका लागि रोजगारी पाउने अवसर हो । हाल हजारौं नेपालीहरुले जापानमा रोजगारी पाईरहेका छन् । आउने दिनमा अझ धेरैले रोजगारी पाउन सक्छन् । तर नेपालीहरुले सँधै जापानको सामाजिक परिवेश, भाषा, सँस्कृति बुझेर काम गर्नु अति आवश्यक हुन्छ । देशको नाममा आँच आउने काम कसैले पनि गर्नुहुँदैन ।
(फ्रान्सका लागि पूर्व नेपाली राजदूत श्रेष्ठले नेपाली राजदूतावास टोकियो जापानमा समेत कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसक्नुभएको छ)








