टोकियो – टोकियोमा सम्पन्न World Max K-1 Championship मा नेपालका हिमालयन चितुवा भनेर चिनिने अविरल घिमिरेको ऐतिहासिक विजय हासिल गरेका छन् । किक बक्सिङ्ग प्रतियोगितामा जापानका प्रख्यात खेलाडी सिरासुलाई नेपाली खेलाडी अविरलले तेस्रो राउन्डको १ मिनेट १३ सेकेन्डमा पराजित गर्दै शानदार विजय हासिल गरेका हुन् ।
हजारौं दर्शकको उपस्थितिमा विजयी बन्दै अविरलले नेपाली झण्डा फहराएका थिए । ऐतिहासिक जितपछि अविरलका प्रशिक्षक तथा पिता देव घिमिरेले नेपाली खेलाडीलाई माया र समर्थन गर्ने सबै नेपाली तथा जापानी समुदायलाई धन्यवाद व्यक्त गरेका छन् । उनले विशेष गरी हलसम्म आएर साथ, समर्थन, शुभकामना दिने पत्रकार, गुरु-चेला, अग्रज तथा अन्य खेलप्रेमीहरूप्रति आभार प्रकट गरे ।
नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उचो बनाउँदै अविरल घिमिरेले अक्टोबर २६ मा जापानको नागोयामा सम्पन्न किक बक्सिङ प्रतियोगितामा फ्रान्सका खेलाडीलाई पराजित गर्दै अर्को महत्वपूर्ण जित हासिल गरेका थिए । नागोयामा परिवारसँग बस्दै आएका अविरलले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हात पार्दै नेपालको गौरव बढाइरहेका छन् ।
यसअघि पनि उनले हिट ५३ को उपाधि रक्षा गर्दै लगातार चौथो पटक उपाधि जितेर नयाँ कीर्तिमान कायम गरेका थिए । हालसम्म उनले जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्ड लगायतका देशका बक्सरहरूलाई पराजित गरिसकेका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान बनाउन सफल खेलाडीका रूपमा अविरललाई उच्च सम्मान गरिएको छ ।
नियमित रूपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका अविरल नागोयामा परिवारसँग बस्दै बक्सिङ खेलमा आफ्नो करियर अगाडि बढाइरहेका छन् । जापानमा व्यवसायिक किक बक्सिङ खेल्दै आएका उनले हालसम्म बक्सिङ्ग हिट प्रतियोगिताका १५ खेल जितिसकेका छन् ।
अविरलले आफ्नो सफलता पछाडिको कारण कडा मिहिनेत र नेपालीहरूको आशीर्वाद रहेको बताएका छन् । नेपाली खेलकुदको क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उचो बनाउने आफ्नो लक्ष्य रहेको उनको भनाई छ ।









