काठमाडौं – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार बेहोरेको छ । चौथो खेलमा पहिलो हार बेहोर्ने क्रममा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भयो ।
चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्स १८.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३५ रन जाडे । उनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । चितवनका ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।
सुदूरपश्चिमले लगातार जित पछि पहिलो हार बेहोरेको हो । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो । चितवनले चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।








