Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

लज्जावती फूललाई बिनाअनुमति सबैले छोए

उनी बिनास्पर्श स्वतन्त्र बाँच्न चाहन्छिन्

भन्दिनु तिम्रो खोक्रो समाजवादलाई 

गौँथली मरिसकिन्

लज्जावती फूलहरू अब लजाउने छैनन् –

माथिका पङ्क्ति नेपाली साहित्य विधामा पहिलो पटक सुरु भएको कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’मा कवि नाथन रायनले वाचन गरे ।

मञ्चमा उनले यी पङ्क्ति वाचन गरिरहँदा केही प्रश्नहरू जन्मिएका छन् ।

नारीलाई इतिहास वा कथाका पानामा उच्च देखाइनु के नारी स्वतन्त्रता हो ? के स्वतन्त्रता भनेको अरूले दिएको आकाशमा निर्बाध उड्नु हो ? अरूले नदिएको आकाश खोसेर त्यो आकाशमा उड्नु पनि त स्वतन्त्रता होइन । के स्वतन्त्रता भनेको आफ्नो खुट्टामा बाँधिएको सिक्री अरूसँग साँचो मागेर बन्धनमुक्त हुनु हो ?

तर नाथन भन्छन्, ’स्वतन्त्रता भनेको त त्यो अमूल्य निधि हो, जो आफूभित्र हुन्छ र माग्नु पर्दैन कसैसँग । हो, यही कुरा हमेसा हामीहरूले बुझ्नु पर्छ ।’

नाथन रायन कञ्चनपुर बासी हुन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका उनको स्नातकसम्मको पढाइ त्यहीँ बित्यो । महेन्द्रनगरस्थित अमिटी कलेजबाट उनले बिबिए उत्तीर्ण गरेका छन् ।

महेन्द्रनगरबाट उनी काठमाडौँ आए ।  कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका नाथन मण्डला थिएटरका विद्यार्थी पनि हुन् । मण्डलामा सोमनाथ खनालद्वारा निर्देशित नाटक ‘तीन ट्रान्जिट’ मा उनले अभिनय गरिसकेका छन् । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत भूमिका पाएपछि उनीसँग ठूलो पर्दाको समेत अनुभव छ ।

सन् २०१९/२० का लागि अमेरिकी दूतावास यूथ काउन्सिल मेम्बर नाथन आफूले कलेज पढ्दादेखि मात्र कविता लेखेको बताउँछन् । यही वैशाख ८ गते नेपालकै पहिलो कवितामा आधारित रियालिटी शो ‘द पोइट आइडल’ को फाइनल प्रतिस्पर्धा हुँदै छ । उक्त प्रतिस्पर्धामा सुदूरपश्चिमबाट सहभागी न्याथन रायन फाइनलमा पुगेका छन् ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जन्मिएका न्याथन अहिले गृह जिल्लामा छन् । प्रतिस्पर्धाको फाइनलमा पुगेपछि उनी भोट अपिलका लागि गृह जिल्ला आइपुगेका हुन् । उनको दैनिकी अचेल भ्याई नभ्याई छ ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा ४ जनाबीचमा हुँदै छ । त्यसमध्ये दुई जना नेपाली छन् भने अन्य एक जना दार्जिलिङ र अर्का सिक्किमबाट छन् । फाइनल प्रतिस्पर्धामा चारै जनाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । अब्बल कविका बीचमा आफ्नो छुट्टै पहिचान बनाउन सफल न्याथनको भने जित्ने सम्भावना प्रबल हुँदै गएको छ । उनले उक्त मञ्चको हरेक एपिसोडमा फरक फरक प्रयोग गरेका छन् जसलाई सामाजिक सञ्जालमा निकै धेरैले रुचाएका छन् ।

यस्तै उनी एक पटक बटम जोनमा मात्र परेका थिए । त्यसपछि भने उनको भोट निरन्तर उकालो लागेको छ । साथै सामाजिक सञ्जालमा आइरहेका प्रतिक्रियाका कारण पनि उनको जीत सहज हुँदै गएको देखिन्छ ।

पछिल्लो समय भोट अपिलिङका लागि दौडधुप गरिरहेका न्याथन आफूले आइडलको टाइटल जित्नेमा विश्वस्त रहेको बताउँछन् । साथै उनले आफ्ना समर्थक तथा सहृदयीहरूमा भोटिङका लागि आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया