
काठमाडौँ – योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जसकारण उनी पुनः चर्चामा छन् ।उत्तर प्रदेशको मुरादाबादमा नशा मुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आममानिसलाई लागुऔषध नलिन आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागुऔषध प्रयोगकर्ताको आरोप लगाए । उनले सलमान खान, शाहरुख खान र आमिर खानको नाम लिँदै उनीहरुलाई लागुऔषध प्रयोगकर्ता भन्न छुटाएनन् ।
‘शाहरुख खानका छोरा लागुऔषध लिइरहेका छन् । सलमान लागुऔषध लिन्छन्, आमिरको थाहा छैन । थाहा छैन, कति ठूला–ठूला, जसलाई फिल्म स्टार भन्छन् । अभिनेत्रीको त भगवान नै मालिक हुन् । फिल्म उद्योगमा चारैतिर लागुऔषध मात्र छ’,उनले भने ।
सन् २०२१ मा शाहरुखका छोरा आर्यन मुम्बईको एक क्रुज पार्टीमा पक्राउ परे । साथीसहित पक्राउ परेका उनलाई लागुऔषध प्रयोग गरिरहँदा पक्राउ गरेको आरोप लगाएर जेल नै पठाइएको थियो । यद्यपि उनले सुरुवातमा जमानत पछि क्लिन चिट नै पाए ।








