टोकियो – जापानमा वृद्ध जनसङ्ख्या तीव्र दरमा बढिरहेको छ । यसको ठिक उल्टो काम गर्ने उमेर समूहको जनसङ्ख्या भने खुम्चिरहेको छ । सन् २०४० सम्ममा जापानको घरेलु कार्यबल १० प्रतिशतभन्दा धेरैले घट्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा आर्थिक वृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्न जापानलाई आगामी २ दशकभित्रमा अहिले त्यहाँ रहेका भन्दा चार गुणा धेरै विदेशी कामदारहरू चाहिने बिहीबार जाइकाको अनुसन्धान एकाइ समेतका घरेलु बौद्धिक समूहहरूले एक अनुसन्धान प्रतिवेदनमा बताएका छन् ।
हाल जापानमा १७ लाख २० हजार विदेशी कामदार छन् । वार्षिक औसत १ दशमलव २४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सन् २०४० सम्ममा जापानले विदेशी कामदारको सङ्ख्या बढाएर ६७ लाख ४० हजारमा पुर्याउनु पर्ने प्रतिवेदनमा भनिएको छ । यो प्रक्षेपण सरकारले तय गरेको दीर्घकालीन वृद्धि प्रक्षेपणमा आधारित छ । प्रक्षेपण गरिएको सङ्ख्या हाल जापानमा रहेका विदेशी कामदारको तुलनामा करिब ३०० प्रतिशत धेरै हुनेछ । तर कोरोना भाइरसको महामारी शुरु भएयता जापानले अपवाद बाहेक नवप्रवेशी विदेशीहरूको प्रवेशमा रोक लगाएको छ ।
अध्ययन र कामका लागि जापान आउने अनुमति पाएर पनि कोभिडका कारण लगाइएको प्रतिबन्धले गर्दा त्यहाँ जान नपाएका विदेशीहरूको सङ्ख्या ३ लाख ७० हजार भन्दा धेरै रहेको भन्दै हालै जापानी सञ्चार माध्यमहरूले समाचार छापेका थिए । यी मध्ये केहीले दक्षिण कोरियालाई अन्य देशलाई विकल्पको रूपमा छानिसकेको केही सर्वेक्षणहरूले देखाएका छन् । कोभिडसम्बन्धी नीतिका कारण अन्तर्राष्ट्रिय स्तरमा जापानको छवि मैलिएको छ । यस्तोमा उनले आवश्यक विदेशी प्रतिभा भित्र्याउन सक्नेमा नै विज्ञहरूले प्रश्न गरिरहेका छन् ।
विदेशी कामदार आकर्षित गर्ने मामिलामा भविष्यमा जापानले चीनलगायत वृद्ध जनसङ्ख्या बढिरहेका अन्य देशहरूसँग प्रतिस्पर्धा गर्नु पर्ने प्रतिवेदनबारे छलफल गर्न आयोजित एक कार्यक्रममा जाइकाका अध्यक्ष शिनिची किताओकाले बिहीबार भनेका थिए । दीर्घकालमा विदेशीहरूले जापानलाई अध्ययन र कामका लागि रोजुन् भन्ने चाहने हो भने उनीहरूको नजरमा जापानलाई आकर्षक गन्तव्यस्थल बनाउनेतर्फ कदम चाल्नु पर्ने पनि किताओकाले बताएका थिए ।
पछिल्लो समय जापानमा जन्मदर घटेको छ । सन् २००८ मा उत्कर्षमा पुगेयता त्यहाँको जनसङ्ख्या घटिरहेको छ । देशका विविध क्षेत्रमा श्रमिक अभाव चुलिएपछि सरकारले सन् २०१९ को अप्रिलदेखि विशिष्टीकृत सिप भएका विदेशी कामदार भित्र्याउने नयाँ भिसा श्रेणी शुरु गरेको थियो । विदेशी कामदारसम्बन्धी नीतिमा जापान केही लचिलो देखिएको थियो । तर सो श्रेणीमा खासै धेरै विदेशी नलगिएको सरकारी तथ्याङ्कले देखाएको छ ।
जापानमा सबैभन्दा धेरै भियतनामी र चिनियाँ कामदारहरू छन् । तर आगामी २ दशकमा त्यहाँ न्यून आय भएका अन्य देशका आप्रवासीको सङ्ख्या बढ्ने अपेक्षा रहेको प्रतिवनमा भनिएको छ । तर अहिलेको अध्यागमन नीति हेर्दा त्यहाँ माग अनुरूप कामदार आपूर्ति हुन नसक्ने अनि सरकारले थप दीर्घकालीन भिसा ल्याउनबारे सोच्नु पर्ने बौद्धिक समूहहरूले बताएका छन् । पछिल्लो समय त्यहाँको सरकारले सीमामा गरेको प्रतिबन्धले जापानलाई अध्ययन र कामका लागि गन्तव्य बनाउनेको सङ्ख्या घट्ने हो कि भन्ने चिन्ता किताओकाले व्यक्त गरेका छन् ।








