काठमाडौं – अर्को वर्षबाट संचालनमा आउने साक्षरता नेपाल अभियानमा भर्ना हुने निरक्षरको उमेर समुह परिवर्तन हुने भएको छ । १५ देखि ६० वर्ष उमेर समुहलाई साक्षरता कक्षा संचालन गर्दै आएको सरकारले आगामी वर्ष १५ वर्ष भन्दा माथी उमेर समुहका सबै नागरिकलाई साक्षर बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले आउदो बर्षलाई साक्षर नेपाल वर्ष घोषणा गरेको छ । शिक्षा, मानव श्रोत विकास केन्द्रले १५–६० उमेर समूहका निरक्षरलाई साक्षरता कक्षा संचालन गर्ने अवधारणा तयार पारेको थियो ।
तर मन्त्रिपरिषद्को बैठकले १५ देखि माथि उमेर समूहका सबैलाई साक्षरता कक्षा संचालन गर्ने अवधारणा स्वीकृत गरेको छ । केन्द्रका निर्देशक गेहनाथ गौतमले अवधारणापत्रमा १५ वर्ष भन्दा माथी सबै निरक्षरलाई साक्षर बनाउने कार्ययोजना रहेको बताउनुभयो ।
उहाले भन्नुभयो–अवधारणापत्र तयार गर्दा माथिल्लो उमेर ६० वर्ष तोकिएको थियो तर निर्णय हुँदा १५ भन्दा माथी सबै उमेर समूहलाई साक्षरता कक्षामा समावेश गराउने निर्णय गरिएको छ ।
आउदो वर्ष साक्षरता कक्षा संचालन गरेपछि सबै निरक्षर साक्षर हुने गरी कार्यान्वयन गर्ने योजना मन्त्रालयले तयार पारेको छ । अवधारणापत्रमा पुस मसान्तसम्म सबै स्थानीय तहले निरक्षरको तथ्याङ संकलन गरी एकिन गर्ने र भर्ना तथा पूर्व तयारी गर्ने उल्लेख गरिएको छ ।
यस्तै आगामी माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पहाड र तराईका जिल्लामा कक्षा संचालनका लागि सार्वजनिक अपिल गरी कक्षा संचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।








