काठमाडौं – संघीय समाजवादी फोरमकी समानुपातिक सांसद कलुदेवी विकले जेठ २१ गते संसद् बैठकको विशेष समयमा भन्नुभयाे, ‘सबैभन्दा बढी छुवाछुत काठमाडौंमा रहेछ । हामीले एक महिना भयो कोठा पाएका छैनौं ।
छुवाछुतको भेदभाव हुनेछैन भनेर संसद्मा सुनिरहेका छौं । काठमाडौंमै यस्तो छ भने गाउँ–गाउँमा के होला ?’ उहाँले दलित शब्द नै हटाउन आग्रह गर्नुभयो । भन्नुभयाे, ‘हामी दलित होइनौं, शिल्पी हौं ।’
यो विषयमा त्यसपछि केही दिन संसदमा चर्चा भयो । भैसेपाटीमा सांसद आवास बनाउन संसद् सचिबालयको नाममा रहेको १ सय ४९ रोपनी चारआना जग्गामा आवास बनाउनुपर्नेमा सरकार र संघीय संसदका पदाधिकारीबीच छलफलसमेत भयो । ‘छलफल छलफलमै सिमित भयो’, संसद सचिबालयका एक उच्च तहका कर्मचारीले भने ।
कलुदेवीले कोठा नपाएको विषय उठाएको ५२ दिनपछि साउन १५ मा नेकपा सांसद निरु पालमाथि उहाँकै डेरानजिक आक्रमण भयो । साँझमा दुध लिन पसलमा निस्किंदा साँघुरो बाटोमा पेस्तोल तेर्साएर धम्की दिएको उहाँले संसद्मा जानकारी गराउनुभयाे ।
बैठकमा उहाँले भन्नुभएकाे थियाे, ‘डेरानजिकैको साँघुरो बाटोछेउमा रहेका एक युवकले घाँटीको माथि पेस्तोल राखेर सुनुवाइ समितिको बैठकमा गइस भने बाउले पनि लास पाउँदैन ।’
सर्बोच्च अदालतका न्यायाधीसका लागि प्रस्तावित दिपकराज जोशीको सुनुवाइ चलिरंहदा उहाँमाथि आक्रमण भएको थियो । यी दुई संसदको घटनाले सांसदलाई सुरक्षित आवासको आवश्यक्ता देखियो ।
सांसदहरुको सुरक्षाको दृष्टिकोणले पनि आवास आवश्यक्ता भएको जनमोर्चाकी सांसद दुर्गा पौडेलले बताउनुभयाे ।








