काठमाडौं – संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरू सहभागी भइरहेका छन् । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले प्रभावशाली नेताहरुका क्षेत्रमा विकास गरेर मात्र मुलुकको समृद्ध हासिल नहुने भन्दै प्रदेश २ बजेट विनियोजन गर्दा पूर्वग्राही देखिएको आरोप लगाउनुभयो । उहाँले तराईमा सिँचाइ र डुबानको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै समयमै सम्बोधन गर्न आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका सांसद नवराज सिलवालले सुरक्षा क्षेत्रमा पुनःसंरचनाको आवश्यकता औँल्याउँदै सुरक्षा चुस्त र मजबुत बनाउन सके त्यसको सकारात्मक प्रभाव सबै क्षेत्रमा पर्ने बताउनुभयो । उहाँले आठ अर्ब जरिवाना उठाउन बाँकी भएको अवस्थामा सरकारले आवश्यक योजना ल्याउनुपर्ने र कर्मचारी परिचालन गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । नेकपाका सांसद पुष्पाकुमारी कायस्थ कर्णले केन्द्रीय राजधानीमा ९ बजे बजार बन्द हुने हालको अवस्थामा सुधार गरी रात्रिकालीन व्यवसाय र फुटपाथ व्यापारलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका सांसद पद्मनारायण चौधरीले नेपाल प्राकृतिक ऊर्जा स्रोतमा धनी भए पनि समयमा सोच बनाउन नसक्दा गरीब भएको उल्लेख गर्दै कृषिमा सिँचाइको उपयुक्त व्यवस्था गरी आत्मनिर्भर हुन सकिने बताउनुभयो । नेकपाका सांसद नवराज रावतले वीरेन्द्रनगर ग्रामीण विद्युतीकरण कार्यक्रम समावेश गरी उपयुक्त बजेटको व्यवस्था गर्न माग गर्दै कोहलपुर–सुर्खेत प्रसारण लाइन समयमै निर्माण गर्नुपर्ने बताउनुभयो ।
नेकपाका सांसद मोहन बानियाँले जनमाफियाहरुले दर्तामात्र गरेका जलविद्युत् कम्पनीलाई खारेज गरी सरकारले सातै प्रदेशमा ठूला जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने उल्लेख गर्दै जल र ऊर्जा क्षेत्रका कार्यक्रमलाई प्रोत्साहन गरी दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्नुपर्ने बताउनुभयो ।
मन्त्रालयका लागि विनियोजित विधेयकमा छलफल जारी रहेको छ। आजै २ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे जानकारी दिने कार्यसूची रहेको छ ।








