ल्हासा – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली उनको सम्मानमा नेपाली महावाणिज्यदूतावास ल्हासाले शनिबार आयोजना गरेको रात्रिभोजमा सरिक भएका छन् । नेपाली वाणिज्यदूत गोविन्दबहादुर कार्कीले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल र ल्हासामा रहेका नेपालीको समेत सहभागिता थियो ।
रात्रिभोज प्रधानमन्त्री ओली बसेको होटल सांग्रिलामा आयोजना गरिएको थियो । प्रधानमन्त्री ओलीले सो अवसरमा नेपाली समुदायसँग संक्षिप्त छलफल गरेका थिए । प्रधानमन्त्री ओलीका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल-चीन सम्बन्धका विभिन्न आयाममाथि प्रकाश पारेका थिए । यस्तै, तिब्बत जनसरकारका उपमन्त्री लिउ झाङले नेपाल-चीन सम्बन्धबारे चर्चा गर्दै आगामी दिन सम्बन्धलाई थप मित्रवत् र प्रगाढ बनाउँदै लैजाने वचनबद्धता प्रकट गरेका थिए।
पोताला दरबारको अवलोकन
नेपाली प्रतिनिधिमण्डलले शनिबारै पोताला दरबार र जोखान मन्दिरको भ्रमण गरेको थियो । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायतका नेपाली प्रतिनिधि भ्रमणमा सहभागी थिए ।
विश्व सम्पदा सूचीमा सन् १९९४ मा सूचीकृत पोताला दरबार राजा स्रङचङ गम्पोले एक हजार ३ सय वर्षअघि निर्माण गरेका थिए । यस्तै, विश्व सम्पदा सूचीमा रहेको जोखान मन्दिर तिब्बतको प्रमुख आर्कषण हो । चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्कने कार्यक्रम छ । –रासस








