काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्य रूपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको भन्दै मूल्यसूची अनिवार्य राख्न निर्देशन दिएको जानकारी दिनुभयाे ।
काठमाडौं उपत्यकालगायत मुलुकभरका विभिन्न सहरका बजारमा व्यापारीले मूल्यसूची नराखीकन दैनिक उपभोग्व वस्तुलगायत अन्य खाद्यान्न बिक्री गरेको भेटिएपछि विभागले यस्तो निर्देशन दिएको जानकारी गराउँदै महानिर्देशक गौचनले भन्नुभयाे, ‘व्यापारीले मूल्यसूचीका साथै बिल बीजक जारी गर्नुपर्छ, अनुगमनका क्रममा त्यसो नगरेको पाइए कारबाही गर्छौं ।’
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले बजारमा अनधिकृत रूपमा मूल्य बढाउने कालोबजारी तथा कर, अन्तःशुल्क छल्ने व्यापारीलाई आफ्नो संस्थाले कुनै पनि हालतमा संरक्षण नगर्ने प्रस्ट पार्दै विभागको निर्देशनलाई कार्यान्वयन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।








