काठमाडाैं – शिक्षक सेवा आयोगले एकै पटक प्राथमिक तहका दश हजार शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी रूपमा ९ हजार ९९६ शिक्षक माग गरेको हो । आयोगले अाज सूचना प्रकाशित गरी असार ३० गतेसम्म दरखास्त फाराम भर्न सूचित गरेको छ। दोब्बर दस्तुरमा साउन ५ गतेसम्म फाराम भर्न सकिनेछ ।
आयोगले प्राथमिक तहको तृतीय श्रेणी सरहका शिक्षक माग गरेको हो । जसमा खुलातर्फ ५ हजार ४९८ कोटा तोकिएको छ । यस्तै, महिलामा एक हजार ४२१, दलित महिलामा ४९, मुस्लिम महिलामा १७ कोटा निर्धारण गरिएको छ । पहिलोपटक महिलाभित्र पनि उपसमूह बनाइएको छ । विज्ञापन अनुसार आदिवासी जनजाति कोटामा एक हजार २१५ जना, मधेशीतर्फ ९८६, दलितमा ४०५, अपाङ्गता भएका व्यक्तिका लागि २२५ र पिछडिएका क्षेत्रका लागि १८० कोटा छुट्याएको छ ।
आयोगले ७७ वटै जिल्लाका लागि दरखास्त आह्वान गरेको हो । प्राथमिक तहका शिक्षकको छनोट जिल्लास्तरमा हुनेछ। लिखित परीक्षा असोज १३ गते शनिबारका लागि तय गरिएको छ । शिक्षा विषयमा कम्तीमा दश महिनाको तालिम वा शिक्षा शास्त्र संकायमा कम्तीमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्णले परीक्षा फाराम भर्न सक्नेछन् । दरखास्त फाराम संकलन तथा रुजु सम्बन्धित जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईले गर्ने आयोगले जनाएको छ । 









