काठमाडाैं – जडिबुटी पुलनजिक बुधबार बिहान ट्रिपरले एक महिलाको ज्यान लियो । भक्तपुरबाट आएको ना४ख ३५५८ नम्बरको ट्रिपरले बा७०प ९३९९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएर तीन मिटरसम्म घिसारेपछि २४ वर्षीया अस्मिता भण्डारी गम्भीर घाइते भइन् ।
रौतहट घर भई काभ्रे बस्दै आएकी उनलाई बीएन्डबी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । ट्रिपर चालक पृथ्वी नारायण नापित पक्राउ परेका छन् । दिउँसो सवा ११ बजेतिर दुर्घटना भएलगत्तै स्थानीय र पैदलयात्रीले ट्रिपरआगजनी गरिदिए। जेठ ९ गते भक्तपुर, नलिञ्चोकमा ट्रिपरकै ठक्करले तीन जनाको ज्यान गयो । साँगाबाट आइरहेको बा३ख ६६७४ नम्बरको ट्रिपरले बा५६प १२२७ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा दोलखा घर भई लोकन्थली बस्ने ५० वर्षीय हरिबहादुर कटवाल, ४० वर्षीया सविता घिमिरे र १३ वर्षीय अविन्द्र घिमिरेको घटनास्थलमै मृत्यु भएको हो । त्यसै रात ट्रिपर चालक कलंकीबाट पक्राउ परे । ट्रिपरको ठक्करबाट भएका दुर्घटनाका यी पछिल्ला उदाहरण हुन् ।
यसअघि पनि यस्ता थुप्रै दुर्घटना भइसकेका छन्, जसमा दुईपाङ्ग्रे अझ स्कुटर चालकले ज्यान गुमाउनुपरेको छ । महानगरीय ट्राफिक महाशाखा रामशाहपथका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा ट्रिपरकै ठक्करबाट ३४ जनाको ज्यान गइसकेको छ । आर्थिक वर्ष २०७३/७४ मा उपत्यकामा ट्रक तथा ट्रिपरका कारण १४ सय दुर्घटना भएको थियो । सबैभन्दा बढी असार, साउन र भदौमा क्रमश: १ सय ४१, १ सय ३२ र १ सय ३० वटा दुर्घटना भयो । ट्रिपर देख्यो कि आफैंलाई खान आएको जस्तो लाग्ने स्कुटर चालक सुजाता ढुंगाना बताउँछिन् ।
वार्षिक २५ हजारभन्दा बढी ट्रिपर नेपाल भित्रिन्छन् तर सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने १० हजार हाराहारी मात्रै हुन्छन् । ठूला सवारीका लागि लाइसेन्स लिने प्रक्रिया, उमेर र अनुभवको मापदण्ड खासै नभएकाले पनि दुर्घटना निम्तिने गरेको ट्राफिक प्रहरीहरू बताउँछन् । यातायात व्यवस्था कार्यालय चाबहिलका प्रमुख गणेश पोखरेलका अनुसार साना चारपाङ्ग्रेको लाइसेन्स लिएको दुई वर्षपछि ठूलो सवारी चालकको अनुमतिपत्र पाइन्छ । यसअनुसार उनीहरूले २१ वर्षको उमेरपछि ठूला गाडी चलाउन पाउँछन् ।
दिनहुँ बढिरहेका दुर्घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ त ? प्रहरी निरीक्षक हाछेथु भन्छन्, ‘लाइसेन्स लिने बेलै व्यावहारिक ज्ञान दिनुपर्छ । १० वटा टिक मार्क र आठ आकार घुमाएको भरमा उपत्यकाजस्तो भीडभाडमा गाडी चलाउन सकिन्न ।’








