काठमाडौं – नक्कली नोट छापेको आरोपमा पक्राउ परेका चर्चित फिल्म ‘लुट’का निर्माता माधव वाग्ले जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले अाज उनीसहित तीन जनालाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
वाग्लेले चङ्गाचेट फिल्मका लागि आफुले नक्कली नोट छापेको दाबी गर्दै आएका थिए । उनले छापेको उक्त पैसामध्ये केही कारोबार भएको पाईएपछि काठमाडौं प्रहरी परिसरले अनुसन्धान अगाडि बढाएको थियो । पक्राउ परेका मध्ये तीन जनालाई धरौटीमा छाड्ने आदेश भएको छ ।
२ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको थियो । गत जेठ २ गते उनीहरुलाई प्रहरीले दुई करोड ५० लाख नेपाली रुपैयाँभन्दा बढी नक्कली नोटसहित पक्राउ गरेको थियो । नोटमा फिल्म प्रयोजनका लागि र नक्कली लेखिएको पाईएपनि राष्ट्र बैंकले नक्कली नोट छाप्नै नपाईने नियम रहेको स्पष्ट पारेको थियो ।








