
काठमाडौं – थिएटर भिलेज र थेम्स इन्टरनेसनल कलेजको सहकार्यमा मण्डला थिएटरमा नयाँ नाटक ’झिमिक झिमिक झ्याप्प’ मञ्चन हुने भएको छ ।
जेठ २९ गतेबाट नियमित मञ्चन हुने यो नाटक बेलायती नाटककार पिटर स्याफरको नाटक ’ब्ल्याक कमेडी’ मा आधारित भई नेपालीकरण गरिएको हो । निर्देशक दिलिप रानाभाटको निर्देशनमा तयार भएको यस नाटक असार तीनसम्म नियमित मञ्चन हुनेछ ।
आफ्नी प्रेमिकाको बाबु र एउटा धनाढ्य आर्ट कलेक्टरलाई इम्प्रेस गर्नको लागि एउटा युवा कलाकारले साथीको कोठाबाट साथीका दुर्लभ र महँगा सामग्री चोरेर ल्याउँछ । आजको समाजमा आधुनिकताको खास्टो ओढेर मान्छेले एक अर्कोलाई कसरी झुक्याइरहेका छन् ।
त्यसले गर्दा सम्बन्धहरू कसरी भत्किरहेका छन् भन्ने कुरामा नाटक केन्द्रित छ । मान्छेका सम्बन्धमा देखिने खोक्रोपनामा समाज र राजनीतिको कस्तो भूमिका रहेको छ भन्ने कुरालाई नाटकले कलात्मक ढङ्गले प्रस्तुत गरेको छ ।
आयुष्ना गिरी,एचके अधिकारी, प्रशंसा पौडेल, सन्देश शाक्य, आयुष्मान प्याकुरेल, प्रस्तुति भट्टराई , श्रवणकुमार राना र बिपिन रिमालको अभिनय रहेको यस नाटकमा साजन कुमार सुनुवार र सुशान श्रेष्ठ निर्देशन सहयोगी हुनुहुन्छ । उमेश तामाङको प्रकाश रहेको यो नाटकलाई दिलिप रानाभाट र आलोक लम्सालले अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्नुभएको हो ।








