काठमाडौं – नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने भएको छ । जसअन्तरगत, संघले आज थप संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
जेठ २७ गते सबै जिल्ला सदरमुकाममा सिठ्ठी जुलुस गर्ने, २९ गते मसाल जुलुस र ३१ गते पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसंघका अध्यक्ष नैनसिंहले जानकारी दिनुभयो । यस्तै आज नेविसंघ कार्यकर्ताले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा कालो झण्डासहित धर्ना दिएका थिए । धर्नापछि भएको कार्यक्रममा बोल्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले जनताको ढाँड सेक्ने गरी गरिएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्नुभयो ।
यसअघि हिजो नेविसंघले मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दैै देशैभरीका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएको थियो । सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजन गरेको नाममा पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै नेविसंघले आन्दोलन गर्दै आएको छ । जेठ १९ गते राति १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा ३ रुपैयाँका दरले भाउ बढाएको थियो।








