काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन यही महिना सिङ्गापुरमा हुने ऐतिहासिक शिखर वार्ताको क्रममा भेट गर्दैछन् । यही १२ जुनमा तय भएको दुई ‘विपरित ध्रुव’का नेताहरुको सुरक्षाको जिम्मेवारी सबैभन्दा बहादुर सेनाका रुपमा चिनिने नेपालका गोर्खाहरुले गर्ने भएका छन् । दुवै नेताले आ-आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।
रोयटर्सका लागि सिङ्गापुरबाट ग्रेग टोरोड र डेबी सिमको रिपोर्ट अनुसार ट्रम्प र किमको सुरक्षाका लागि खुकुरी र आक्रमक राइफल बोकेका गोर्खाहरु परिचालित हुनेछन् । बैठकस्थल वरिपरिका सडक, बैठक बस्ने होटललगायतका महत्वपूर्ण स्थानहरुमा गोर्खाली सेनाले सुरक्षा प्रदान गर्ने तय भएको हो । यसैको तयारीका निम्ति सिंगापुर पुलिसले अहिले उनीहरुलाई विशेष सैन्य पहिरन, बेल्जियममा बनेको एसल्ट राइफल, खुट्टामा पहिरने विशेष प्रकारको पेस्तोल होस्टलरलगायतका हतियार प्रदान गरिरहेको बताइएको छ । तरपनि गोर्खाली सेनाको सबैभन्दा प्रमुख हतियार र राष्ट्रिय पहिचान खुकुरी भएकाले त्यो पनि साथमा हुने बताइएको छ । सार्वजनिक स्थानमा निकै कम देखा पर्ने भए पनि गत हप्ता सांग्रिला होटलमा आयोजित सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी रक्षामन्त्री जीम म्याटिसको विशेष सुरक्षामा गोर्खाली सेनाको भारी उपस्थिति रहेको बताइएको थियो ।
आइआइएसएस मिलिटरी ब्यालेन्सका अनुसार सिंगापुरमा मात्र ६ ठूला कम्पनीहरुका लागि १८ सय गोर्खाली सेना खटाइएको छ । यसबाहेक उनीहरुलाई विशेष अन्तर्राष्ट्रिय समारोहका लागि मात्र सहभागी गराइने गरेको बताइएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय विद्यालय र मलेसियासँगको सीमा क्षेत्रमा पनि उनीहरु देखा पर्ने गरेका छन् । त्यसकारण भिआइपी अतिथिकै लागि विशेष रुपमा बोलाइने हुनाले गोर्खाली आर्मीको सुरक्षा व्यवस्था सिंगापुरले प्रदान गर्न सक्ने सबैभन्दा ठूलो उपहार भएको सैन्य विभागका विज्ञको भनाइ छ । सिंगापुरमा उनीहरु आफ्ना परिवारसँगै सहरभन्दा बाहिरको माउन्ट भर्नन क्याम्पमा बस्ने गर्छन्, जहाँ स्थानीय बासिन्दाहरुलाई प्रवेश निषेध गरिएको हुन्छ ।
विगत २०० वर्षदेखि नै सिंगापुरलगायत बेलायत, ब्रुनाइ, भारतजस्ता देशहरुले नेपालका गोर्खाली सेनालाई विशेष रुपमा भर्ती गराउने गरेका छन् । १९ औँ शताब्दीको युद्धदेखि नै गोर्खाली सेनाबाट अत्यन्तै प्रभावित हुँदा सबैभन्दा पहिले बेलायतले उनीहरुलाई सम्मानस्वरुप तैनाथ गराएको थियो । त्यसैले वर्षौँदेखि सिंगापु्रलाई सुरक्षित राख्नमा पनि गोर्खाली आर्मीको ठूलो हात रहेको सिंगापुर पुलिसको वेबसाइटले व्याख्या गरेको छ । यी सबै देशहरुमा गोर्खा आर्मीलाई परम्परागत शक्तिका रुपमा लिइने गरिएको छ । –एजेन्सी








