Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

कञ्चनपुर – युवा अवस्थामै कमाउनका लागि भारत पुग्नुभएका शुक्लाफाँटा नगरपालिका–९, सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताउनुभएको थिएन । कमाउनका लागि भारततर्फ जाने बेला चार हजार रुपैयाँ मूल्य बराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्कनु भएका उहाँलाई त्यही सामानले भारतमा २४ वर्ष जेल जीवन बिताउन बाध्य बनायो ।

पञ्जाब प्रान्तको जालन्धर नाकामा भारतीय प्रहरीले जाँच गर्दा झोलामा ती सामान फेला पारेपछि तस्करीको आरोपमा उहाँलाईजालन्धरको कपुरथला सेन्टर कारागारमा पुर्‍याइयो र उहाँले पूरै युवा उमेर त्यही कारागारमा बिताउनुभयो । कारागारबाट छुट्नका लागि वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले खोजखबर नपाउँदा लामो समय कारागार बस्नु परेको ऐरले बताउनुभयो । कारागारमा रहँदा दुई छाक खानबाहेक अन्य सुविधा दिइएको थिएन उहाँले भन्नुभयो,  ‘कारागारमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने कार्यमा लगाइन्थ्यो तर अन्य कैदीसरह दैनिक दिइने पैसा समेत दिने गरिएको थिएन ।’ कमाउने पूरै उमेर कारागारमा बिताएपछि ६ महिनाअघि उहाँलाई रिहाइ गरिएको हो ।

‘रिहाइ भएपछि काठ बोक्ने ट्रयाक्टरमा काम गर्न थालेँ । त्यही क्रममा नेपालीसँग भेट भयो । मैले तपाईँहरु नेपाली हो भनेर सोधेँ’, उहाँले भन्नुभयो, ‘उनीहरुले नेपाली भएको बताएपछि आफ्नो सबै कथा व्यथा सुनाएँ ।’ ‘उनीहरुले फेसबुकमा मेरो फोटो र अवस्थाबारे लेखेर नेपालमा रहेका आफन्तलाई पठाए । छोराहरुले जानकारी पाएपछि खोज्दै भारत पुगेर भेटी घरमा ल्याए ।’ सोमबारमात्रै उहाँ घरमा पुग्नुभएको हो । जेठो छोरा आठ वर्ष र कान्छो छोरा डेढ वर्षको छँदा उहाँ भारततर्फ लाग्नुभएको थियो । श्रीमतीले छोराले फेसबुकमा देखाइएका बुबा नै भएको बताएपछि उनीहरु चार दिनका लागि भारत जाँदै छौँ भनेर गएका गणेशकी श्रीमती ईश्वरीदेवीले भन्नुभयो, ‘धेरै ठाउँमा खोजतलास गर्दासमेत भेटाउन सकेका थिएनौँ ।’

‘यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर कारागार पुर्‍याएछन् । पूरै जीवन कारागारमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुसी छौँ’, उहाँले बताउनुभयो । भारतका धेरै ठाउँमा खोजतलास गर्दासमेत नभेटेपछि कुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै थियो भतिजा रमेशबहादुर ऐरले भन्नुभयो, ‘भेटिएपछि खुशीको सीमा नै रहेन ।’ वर्षौँअघि हराउनुभएका उहाँ भेटिएपछि गाउँका सबै बासिन्दामा खुशीयाली छाएको छ । गाउँका सबैजना भेट्न उहाँको घरमा जम्मा हुन थालेका छन् । कारागार पर्नुअघि र परेपछिको कुरा भेट्न आउने सबैलाई गणेशले बिनाहिचकिचाहट सुनाउने गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया