हेटौंडा – प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोही नेपाली भोकै मर्नु नपर्ने दोहोर्याउनु भएको छ । प्रदेश ३ को संसदलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा दोहोर्याउनु भएको हो ।
एक वर्ष अगाडि आफूले भोकै कोही मर्न नपर्ने बताएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मैले अघिल्ला वर्ष अब नेपालमा कोही भोकै मर्दैन भनेको थिएँ । अब म दावाका साथ भन्छु, कोही नेपाली भोकै मर्दैन, कोही नेपाली भोकै मर्दैन । किनभने यो देशमा जनताका लागि सरकार छ ।’
तराईंमा जाडो महिनामा पहिलको जस्तो मान्छे मर्न नपरोस् भन्नेतर्फ सरकार गम्भीर भएको भन्दै प्रधानमन्त्री ओलीले जनताप्रति उत्तरदायी हुने बताउनुभयो । उहाँले नेपालमा प्रशस्तै सम्भावना भएको उल्लेख गर्नुभयो । उहाँले नेपालले आयातभन्दा धेरै निर्यात गर्नुपर्ने बताउँदै नचाहिने बस्तुको आयात र उपभोग गर्ने बानीलाई हटाउँदै लैजानुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालले भारत र बंगलादेशलाई सिमेन्ट उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा निर्यात गर्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘भारतलाई नेपालले सिमेन्ट उपलब्ध गराउन सक्छ । भारतले नेपालसँग गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न सक्दैन । हामीसँग प्रशस्त मात्रामा ढुङ्गा खानी छ । हामीसँग सुन खानी छ । मान्छेहरुले खोलाको बालुवामा सुन चालेर जीविका चलाइराखेका छन् । खोलामा पानीसँगै बगिरहेको सुन छ ।’








