काठमाडाैं – आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासमा भएको बहसपछि उनलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो ।
हिन्दु राष्ट्रको आन्दोलन चर्काउन उनले आफैंमाथि गोली हान्न लगाएका थिए । गोली हान्ने माधव चौधरीलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो । चौधरी र आचार्यका सहयोगी लक्ष्मीराज अधिकारीले पनि जेल चलानको आदेश भएको मोरङका एसपी मनोज केसीले बताउनुभयो । श्रीनिवासमाथि गत चैत २५ गते विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । बिहान शौचालय जाने क्रममा योजना अनुसार नै गोली प्रहार भएको थियो ।
गोली हान्ने चौधरी लगत्तै फरार भएका थिए । धर्मगुरुका शिष्य लक्ष्मीराज अधिकारीले अरुलाई खबर गरी अस्पताल पुर्याएका थिए । हिन्दु धर्म कमजोर अवस्थामा रहेको भन्दै यसलाई बलियो बनाउन श्रीनिवास एउटा ‘हंगामा’ गर्न चाहन्थे । त्यही योजना अन्तर्गत उनले आफैंमाथि गोली हान्न लगाउने योजना अधिकारीलाई सुनाएका थिए ।








