काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका आधारमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको छ । विश्व सर्वहारा वर्गका नेता कार्ल माक्र्सको जन्म द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा (मसाल)ले आयोजना गरेको ‘माक्र्सवाद र समाजवाद’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले माक्र्सवादको मार्गदर्शनमा नेपालमा कम्युनिष्ट पार्टीको अगुवाइमा समाजवादको आधार तय हुँदै गएको बताउनुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा एमाले र माओवादी केन्द्रबीचको ऐतिहासिक एकताबाट निर्मित नेकपाले राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सामाजिक न्याय र समानता कायमसहित समाजवादतर्फको यात्रा तय हुने बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई दिएको लोकप्रियता र वैधता तथा माओवादी जनयुद्धले दिएको राजनीतिक चेतनाको जगमा जनताको सर्वोच्चतालाई स्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सरकारले कार्यक्रम अघि बढाएको धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेकपाले सामान्तवाद र साम्राज्यवादको विरोध गर्दै लोकतान्त्रिक आन्दोलनमा सफलता हासिल गरी अब श्रमिक वर्गको चाहनालाई पूरा गर्न समृद्ध समाजवादी यात्राका लागि बाटो तय गर्नेछ ।’








