काठमाडाैं – जिल्ला अदालत मोरङले सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ लाई पुर्पक्षका लागि थुनामा पठाएको छ । चार दिनसम्मको बयानपछि थुनछेक बहसका क्रममा जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले गोरेलाई अाज थुनामा पठाउने आदेश दिएको हो ।
जिल्ला न्यायाधीवक्ता पुण्य पाठकले सरकारको पक्षमा र गोरेका पक्षमा वकिल यमबहादुर मगर बहस गरेका थिए । गोरेलाई सुन प्रकरण र सनम शाक्य हत्या अभियोगमा मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको थियो । सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले एसएसपी सहित २८ जनालाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले उनलाई थुना पठाउने आदेश दिएको हो ।
गोरेसँग जिल्ला अदालत मोरङका न्यायाधीश शर्माको इजलासमा ३७ पृष्ठ लामो बयान लिइएको छ । बयानका क्रममा गोरेले आफूले सनम शाक्यको हत्या नगरेको दाबीगरेका छन् । सुन तस्करीमा भने आफूले नाम लिएका व्यक्तिलाई पक्रन सरकारले हिम्मत जुटाउन सक्नुपर्ने बताएका छन् । तर, उनले नाम लिएका व्यक्तिहरुबारे केही पनि सार्वजनिक गरिएको छैन ।








