Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

टोकियो–राष्ट्रिय खेल भलिबललाई सबैको चासो बनाउने र बागलुङको गलकोट क्षेत्रमा खेलकूदको विकास लागि गलकोट स्पोर्टस क्लब जापानद्धारा आयोजित चौथो मैत्रीपूर्ण भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
क्लबको चौथो वार्षिक उत्सवको अवसरमा हुन लागेको यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मंगलबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । नेपालीहरुमा भाइचाराको सम्बन्धलाई बलियो बनाई राष्ट्रिय खेल भलिबललाई राष्ट्रको पहिचानको एक अंगका रुपमा बनाउन सहयोग पुर्याउनका लागि हरेक वर्ष जस्तै यस वर्षपनि प्रतियोगिता गरिन लगिएको क्लबका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिनुभयो ।
अप्रिल १८ तारिकका दिन ओता कु स्पोर्टस सेन्टर हिगासी कामतामा हुने सो प्रतियोगितामा १६ समूहलाई सहभागी बनाइने, खेललाई अन्तराष्ट्रिय प्रचलित मान्यताका आधारमा खेलाइने, स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भन्ने मान्यतालाई आत्मसात गरि पूर्णरुपमा अनुशासनको साथ प्रतियोगिता संचालन गरिने क्लबका सल्लाहकार तथा अतिथि सम्मान संयोजक रामकृष्ण बम मल्लले बताउनुभयो ।
प्रतियोगिताका लागि आवश्यक आर्थिक व्यवस्थापानका लागि विभिन्न निकायहरुसँग छलफल भई आवश्यक स्रोतको व्यवस्थापन भैरहेको, प्रतियोगितालाई मर्यादित र व्यवस्थित रुपमा संचालन गर्न विभिन्न विभागीय समिति गठन गरि आवश्यक कार्य भैरहेकोले विगतका अनुभवहरुको सिकाइबाट यस वर्ष अझ उत्कृष्ट प्रतियोगिता गरिन लागेको क्लबका महासचिव लक्ष्मण कार्कीले बताउनु भयो ।
खेलकूदको विकासका लागि संस्थागत रुपमा लागेका गलकोट क्षेत्रका संस्थाहरुलाई खेलकूद सामाग्रीका साथै आवश्यक सहयोग गरिदै आएकोमा यस वर्षपनि सो कार्यलाई निरन्तरता दिइने लोकेश भण्डारीले जानकारी दिनुभयो । खेलकूदको विकासका लागि देशव्यापी सहयोग गर्ने आफूहरुको उदेश्य रहेपनि हालका लागि गलकोटबाट सुरुवात गरिएको र अबका दिनमा खेलकूदको क्षेत्रमा मात्र केन्द्रित रहेर सहयोग गरिने पनि सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख येन, चाँदीको रनिङ कप, प्रमाणपत्र, द्धितीय हुनेलाई दुई लाख येन, प्रमाणपत्र प्रदान गरिने, उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई पुरस्कृत गरिने, जानकारी रेफ्री तथा खेल व्यवस्थापन संयोजक भविन थापाले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रतियोगिता विहान साढे नौ बजे उद्घाटन हुने, चार बजे फाइनल प्रतियोगिता भई छ बजे पुरस्कार वितरण र समापन समारोह हुने बताउनुभयो ।
जापानमा भलिबल प्रतियोगिताको सुरुवात थकाली सेवा समाजले गरेको र संस्थागत रुपमा क्लबले विगत चार वर्षदेखि निरन्तरता दिइरहेको बताइएको थियो ।
पत्रकार सम्मेलनमा गलकोट सेवा समाजका अध्यक्ष नरबहादुर थापा, भलिबल संघ जापानका अध्यक्ष नवीन गुरुङ लगाएको सहभागिता रहेको थियो । रत्नसिंह बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लक्ष्मण कार्कीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया