गोरखा – भूकम्प गएको १६ महिना भइसक्दा पनि गोरखाका अधिकांश स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सञ्चालनमा ल्याउन सकिएको छैन ।भूकम्पले भत्काएको ५४ वटा स्वास्थ्य संस्थाका भवनमध्ये अहिलेसम्म श्रीनाथकोट, गाँखु, शेरा र धारपानीको भवन मात्रै पुनःनिर्माण भएको छ ।
![lqkfnd} uf]/vfsf :jf:Yo;+:yf lqkfnaf6} la/fdLsf] pkrf/ ug{ afWo ba'{ª :jf:Yorf}sLdf kfnf] s'b}{ la/fdL . e"sDk uPsf] !^ dlxgf eO;Sbf klg uf]/vfsf clwsf+z :jf:Yo ;+:yf ejg k'gMlgdf{0f u/L ;~rfngdf Nofpg ;lsPsf] 5}g . t:jL/ M k|zGg kf]v/]n, /f;;](https://samudra-pari.com/wp-content/uploads/2016/09/55.jpg)
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाले भवन निर्माण गर्ने जिम्मा लिए पनि अहिलेसम्म काम सुरु नगर्दा त्रिपालबाटै बिरामीको उपचार गर्नुपरेको स्वास्थ्यकर्मीको गुनासो छ ।त्रिपालमुनिको स्वास्थ्य संस्थामा घाम लागेका बेला गर्मीले त्रिपालभित्र बसिसाध्य नहुने र पानी परेको बेला पानी चुहिएर उपचार गर्न असहज भएको दर्बुङ स्वास्थ्यचौकीका अहेब पप्पुकुमार रौनियारले बताउनुभयो ।
दिनहुँ ४० जना हाराहारीका बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउँछन् । तीमध्ये अधिकांश ज्वरो, झाडापखाला तथा निमोनियाबाट पीडित छन् । त्रिपाल र टेन्टमा सञ्चालित स्वास्थ्यचौकीमा औषधि भण्डारण गर्न, बिरामीको स्वास्थ्य परीक्षण, उपचार गर्न र औषधि सुरक्षित राख्न समस्या हुँदै आएको छ भन्दै स्वास्थ्यचौकी प्रमुख विनिता श्रेष्ठ प्रधानले भन्नुभयो– “गर्मीले औषधि पग्लेकाले भत्केको घरमा औषधि भण्डारण गरेका छौँ । त्रिपालभित्र बसेर बिरामीको उपचारमा खट्दा स्वास्थ्यकर्मी नै बिरामी हुने अवस्था छ । ”
जिल्लाका धावा, आरुपोखरी, फुजेल, लापु, गुम्दा, दर्बुङ, ताकुकोट, घ्याल्चोकलगायतका स्वास्थ्य संस्था १६ महिनादेखि त्रिपालमै सञ्चालनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका पुनःनिर्माणसम्बन्धी कार्यक्रम प्रमुख नानीबाबु दानीले जानकारी दिनुभयो । दर्बुङ स्वास्थ्यचौकीको अर्धपक्की भवन निर्माणको काम बिहीबारदेखि सुरु भएको छ । दर्बुङसहित गोरखाका १२ वटा स्वास्थ्यचौकी भवन युनिसेफले निर्माण गर्न लागेको युनिसेफका नेपालस्थित स्वास्थ्य प्रमुख डाक्टर हेन्डिकेन्सको भनाइ छ । भूकम्प प्रभावित अन्य जिल्लामा गरी कुल ७४ वटा भवन पुनःनिर्माणमा युनिसेफले सघाउने भएको हो ।
सङ्घसंस्थाले ओगटे मात्रै भवन बनाउन सुरु गरेनन्
युनिसेफले छोप्राक, बक्राङ, देउराली, तारानगर, फुजेल, नाम्जुङ, बारपाक, लाप्राक, गुम्दा, माछाखोलामा भवन पुनःनिर्माण गर्ने बताए पनि अहिलेसम्म दर्बुङमा मात्रै स्वास्थ्य संस्थाका भवन निर्माणका लागि जग खनेको छ । आउँदो दुई महिनाभित्र अधिकांश ठाउँमा भवनको पुनःनिर्माण सकिने युनिसेफका गोरखा प्रमुख मोहम्मद खानले बताउनुभयो ।
यस्तै वल्र्ड भिजन इन्टरनेसनलले केराबारीको स्वास्थ्यचौकी भवन निर्माणको जिम्मा लिएको भए पनि पुनःनिर्माण गरेको छैन । जग शिलान्यास गरिएको महिनौँ हुँदा पनि भवन निर्माणको काम सुरु भएन । सेभ द चिल्डे«नले आरुपोखरीस्थित भवन निर्माण गर्ने प्रतिबद्धता गरे पनि जग्गा विवाद भएको भन्दै काम सुरु नगर्दै छाडेको छ । सो संस्थाले आठवटा भवन निर्माणका लागि स्वीकृति लिएको थियो ।
आइएमसी नामक संस्थाले सातवटा, असल छिमेकी पोखराले पाँचवटा, गुड नेभर्सले चारवटा, शुभ अवसर ग्राम नेपालले दुईवटा, फेज नेपालले दुईवटा, द हिमालयन यात्राले छेकम्पारस्थित स्वास्थ्यचौकी भवनको पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाए पनि काम सुरु नगर्दा त्रिपालबाटै स्वास्थ्यसंस्था सञ्चालन भइरहेका हुन् । सङ्घसंस्थालाई अर्धपक्की (प्रिफ्याव) भवन निर्माण गर्न अनुमति दिइएको हो । पक्की भवन निर्माण गर्नुपर्ने बेलासम्म अर्धपक्की भवन निर्माण सुरु नभएकाले ती सङ्घसंस्थाको आलोचना हुँदै आएको छ ।
अर्धपक्की भवन निर्माणमा सङ्घसंस्थाले रु ३५ लाखदेखि ६० लाखसम्म खर्च गर्न लागेका हुन् । पक्की भवन पुनःनिर्माण हुँदा प्रतिभवन करिब रु तीन करोड लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीको भनाइ छ । भवन पुनःनिर्माणको जिम्मा लिने तर निर्माण सुरु नगर्ने सङ्घसंस्थालाई कारबाही गरिने बताउँदै पराजुलीले छिटो भवन निर्माण गर्न सङ्घसंस्थालाई आग्रह गरिसकिएको बताउनुभयो ।








