Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ २३, २०८३
Saturday, June 6, 2026

अष्टमान  सुन्दर छैन
अनुहार
काठमाडौंका सडक जस्ता छन्
थुप्रै खाल्डाखुल्डी परेका
र पनि
ऊ अनुहारमा वसन्त बोक्छ
ओठमा फूल फुलाउँछ
माटोपानीले फुटेका हातहरु
निधारसम्म उठाएर भन्छ
‘तारेमाम’
र ङिच्च हाँसिदिन्छ
सुन्दरताको परिभाषा च्यात्दै

बुसर्ट माथि मैलो इष्टकोट
शिरमा थेप्चिएको ढाका टोपी
कानमा चेपिएको गुन स्वाँ*

निधारमा एक धर्को रातो टिका
मनमा आस्था
पत्थरमा श्रद्धा
अष्टमान
एकाबिहानै
भेटे जतिलाई आँखा चिम्लेर
भक्तिले हात उठाएर भनिदिन्छ
‘भगवान् सर्न’
र पुजिदिन्छ
जगतमय ईश्वर देख्दै
खोला बगिरहन्छ
अष्टमान हिँडिरहन्छ
सूर्य उदाइरहन्छ
अष्टमान चम्किरहन्छ
फूल फुलिरहन्छ
अष्टमान मुस्कुराइरहन्छ
अष्टमान सरल प्रकृति
अष्टमान हार्दिक सद्भाव
अष्टमान आनन्दमय प्रेम
अष्टमान विसुद्ध मानव
अष्टमान
सधैँ सधैँ नयाँ वर्ष
सधैँ सधैँ नयाँ दिन …

(* गुनकेसरी फूल)

तपाईको प्रतिक्रिया