लुभेन – नेपालका वरिष्ठ हास्यकलाकार तथा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिकदूत मनोज गजुरेललाई सो अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले एक सांस्कृतिक कार्यक्रममा स्वागत गर्नुभएको छ ।
गैर आवासीय नेपाली संघ, बेल्जियमले परोपकारी राहत कोष सहयोगार्थ लुभेन शहरमा आयोजना गरेको उक्त कार्यक्रममा युरोप सल्लाहकार आचार्यले नेपालका ख्यातिप्राप्त दोहोरी गायक पशुपति शर्मा र गायिका रीता थापा मगरलाई पनि खादा ओंढाएर स्वागत गर्नु भएको थियो ।
गैर आवासीय नेपाली संघ, बेल्जियमले परोपकारी राहत कोषको अभिबृद्धि गर्ने उद्देश्यले बेल्जियमका विभिन्न शहरहरुमा च्यारिटी कार्यक्रम गर्ने सिलसिलामा लुभेनमा पनि कार्यक्रम आयोजना गरेको थियो । उक्त कोषमा आफ्नो तर्फबाट अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले २०१ युरो (करिव नेपाली रु. २६०००.००) सहयोगस्वरुप प्रदान गर्नुभयो । बेल्जियमका विभिन्न शहरहरुमा परोपकारी राहत कोष सहयोगका लागि सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन् । गत सोमबार लुभेनमा भएको सांस्कृतिक कार्यक्रममा समेत गरि हाल सम्म ३०२२८ (तीसहजार दुईसय अठ्ठाईस) यूरो जम्मा भईसकेको गैर आवासीय नेपाली संघ, बेल्जियमले सार्वजनिक गरेको छ ।
लुभेनको रेल स्टेसन अगाडिको हेट डेपोट थिएटरमा आयोजित कार्यक्रममा करिव २५० दर्शकहरुको उपस्थितिमा भरपुर मनोरन्जनका साथ उल्लासमय वातावरणमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको थियो । ***








